• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानी खुकुरीकाे इतिहास र वर्तमान


अनिल भण्डारी

अनिल भण्डारी

सल्यान जिल्ला कला, साहित्य, संस्कृति, प्राकृतिक र धार्मिक सम्पदामा धनी जिल्लाका रुपमा स्थापित भएता पनि यस जिल्लाका श्रोत र सम्पदाहरुले राष्ट्रिय स्तरमा कुनै महत्वपुर्ण स्थान प्राप्त गर्न नसकेका कारण यो जिल्ला अझै पनि नेपालका ७७ जिल्ला मध्ये सम्पुर्ण तवरबाट ख्याति प्राप्त जिल्लाका रुपमा ख्याती प्राप्त छ ।

सल्यानका मौलिक कला, साहित्य, संस्कृति अनि धार्मिक स्थलहरु सल्यानबासीको पहिचान र अमुल्य सम्पति हुन भन्ने धारणाको पुर्ण विकास सल्यानबासीहरुमा हुन सकेको छैन् । यसर्थ सल्यानका अमुल्य सम्पतिहरु सल्यान बाटै ओझेलमा पर्ने अवस्थाको सिर्जना नहोला भन्न सकिँदैन ।

सल्यान जिल्लाका कला, साहित्य, संस्कृति, प्राकृतिक र धार्मिक सम्पदाको संरक्षण र संवर्द्दन गरि सल्यान जिल्लालाइ सम्पुर्ण तवर बाट सम्बृद्व बनाउनु सम्पुर्ण सल्यानबासीको परम कर्तब्य भएकाले सल्यान जिल्लाका लोपोन्मुख सम्पतिहरुको अस्तित्व बचाउ अभियान सन्चलन गरि सल्यानको पहिचान राष्ट्रिय स्तरसम्म कायम गर्नका निमित्त सम्पुर्ण सल्यानीहरु कृयाशील हुनुपर्ने टड्काराे आवस्यक छ ।

सल्यान जिल्लाबाट सिर्जना भइ राष्ट्रिय स्तर समक्ष आफ्नो विशिस्टता प्रदर्शन गर्ने सल्यानका विभिन्न कला मध्ये सल्यानी खुकुरीको निर्माण गर्ने कला पनि महत्वपुर्न कलाका रुपमा परिचित छ । तर विगत केही समययता खुकुरी निर्माणको कार्यमा कमी आइ आगामी केही दशकमा सल्यानी खुकुरीको निर्माण कार्य लोपोन्मुख अवस्थामा पुग्ने संकेत देखिन्छ ।

नेपालमा खुकुरी निर्माणका लागि प्रसिद्द जिल्ला भोजपुर भएको कुरा सर्वविदितै छ । भोजपुरी खुकुरीले आफ्नो विशिस्ट गुणस्तर प्रदर्शन गरि राष्ट्रिय रुपमा व्यापकता नमच्चाएको पनि हैन, तर क्रमिक रुपमा भोजपुरी खुकुरीको गुणस्तर घट्दै गयो । यसै क्रममा २०१७ साल तिर तत्कालीन राजा महेन्द्र शाहको सल्यान जिल्लाको भ्रमण गर्ने क्रममा  सल्यानको शितलपाटी आवागमन भएको थियो । राजा महेन्द्र शाह शितलपाटी आएका बेला उनले सल्यानी खुकुरीको चर्चा परिचर्चा बुझे ।

उनले सल्यानी खुकुरीको चर्चा परिचर्चा सुनिसकेपश्चात त्यस समयका चर्चित खुकुरी निर्माता तिलक विक संग भेट गरि तिलक विक कै साथमा राजा महेन्द्र सल्यानी खुकुरीका लागि प्रसिद्द स्थान सल्यान सदरमुकाम खलंगाको मेचखानामा सवार भए ।

राजा महेन्द्र मेचखानामा प्रवेश गरिसकेपछि उनले सल्यानी खुकुरी बन्ने प्रक्रिया र निर्मित सल्यानी खुकुरीको गुणस्तर अवलोकन गरि खुकुरी निर्माण सामग्री उपलब्ध गराउने प्रतिबद्दता ज्यक्त गरि १२ थान सल्यानी खुकुरी काठमाडौं लिएर गएको अहिलेका बृद्द खुकुरी निर्माता जुद्द वीर विक सम्झन्छन् । उनका अनुसार राजा महेन्द्र १२ थान सल्यानी खुकुरी लिएर काठमाडौं गइसके पश्चात उनले लिएका १२ थान सल्यानी खुकुरीले काठमाडौंमा समेत ब्यापकता प्रदर्शन गरिसकेपछि उनि सल्यानी खुकुरी बाट धेरै प्रसन्न भएका थिए ।

फेरि उनकाे सल्यान भ्रमण गर्ने अवसरमा खुकुरीका लागि उनि प्रसिद्द स्थान सल्यान सदरमुकाम खलंगाको मेचखानामा पुगेका थिए । पुनः सल्यान आइसकेपछि राजा महेन्द्रले तत्कालिन खुकुरी निर्माता तिलक विक, पकडे विक र लाटा विक लगायतको टोलिलाई खुकुरी निर्माणका लागि आवस्यक सामग्री उपलब्ध गराइ काठमाडौं गएका थिए ।

यसरी सल्यानी खुकुरीको व्यापकताको इतिहास आफै भन्छ, सल्यान जिल्ला नेपाल अधिराज्यमा खुकुरीका लागि दोस्रो प्रसिद्द जिल्ला हो भनेर । सल्यानमा निर्मित खुकुरीको गुणस्तर र सल्यान बाहिरका जिल्लाहरुमा निर्मित खुकुरीको गुणस्तर बीच प्रतिस्पर्धा गराउदा सबै जिल्लामा निर्मित खुकुरीको गुणस्तरलाई उछिन्दै सल्यानी खुकुरीको गुणस्तर पहिलो स्थानमा पर्ने कुरामा दुई मत छैन ।

१० बर्ष कै कलिलो उमेर देखि खुकुरी निर्माण क्षेत्रमा कृयाशील व्यक्ति जुद्द वीर विक भन्छन, ‘सल्यानी खुकुरीप्रति लाभान्वित नहुँने मान्छे कम छन् । हरेक बर्ष हजारौ हजार थान खुकुरीको माग भइरहन्छ । तर माग अनुसारको खुकुरी उपलब्ध गराउन सकिएको छैन । खुकुरी निर्माणका लागि आवस्यक कच्चा पदार्थ जेनतेन खरिद गरिए तापनि बढ्दाे मात्रामा हुने लाेडसेडिङका कारण एउटै खुकुरी निर्माण गर्न दुई तीन दिन लागिदिन्छ ।’

जुद्द वीर विक लगायतका खुकुरी निर्माताहरुको खुकुरी निर्माण व्यवसाय फस्टाउँदै जावस भन्ने अभिप्रायका साथ डिमेगा सल्यानले खुकुरी निर्माणमा सहजता दिनका लागि एक थान जेनेरेटर पनि उपलब्ध गराएको छ । तर उपलब्ध जेनेरेटरका लागि आवस्यक पर्ने पेट्रोल खरिद गर्नु पर्ने र खुकुरीका लागि आवस्यक पर्ने कच्चा पदार्थ पनि खरिद गर्नु पर्ने भएकाले खुकुरी निर्माण व्यवसायमा बढी खर्च र परिश्रम हुने तर आम्दानी कम हुने समस्याले गर्दा पछिल्लो पुस्ताको खुकुरी निर्माण कार्यमा ध्यानाकर्षण हुन सकेको छैन ।

यसरी हरेक पुस्तामा खुकुरी निर्माता संख्या घट्दै जाँदा सल्यानी खुकुरीको अस्तित्व नै नरहने संकेत देखिन्छ । देश तथा विदेशका विभिन्न ठाउँहरुमा निर्यात गराइ जिल्लाको आम्दानी बढाउन सहयोग पुर्याउने सल्यानी खुकुरीको निर्माण गर्मे कला सल्यान सदरमुकाम खलंगाका विश्वकर्माहरुको मात्रै सम्पती नभएर सम्पुर्ण सल्यानबासीहरुको पहिचान गर्व र शीर हो । यसर्थ सम्पुर्ण सल्यान बासीहरु आफ्नो पहिचान कायम गर्न एकजुठ भइ लाग्नु पर्दछ । खुकुरी निर्माण कार्यमा देखिएका समस्याहरुको चिरफार गर्न हामी सबैले हातेमालो गर्न जरुरी छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार