जेठ १४, काठमाडाैं ।
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका छन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृ’त्यु भएको थियो ।
त्यसलगत्तै बिरामीका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक र स्टाफ नर्समाथि आक्रमण गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।
‘लाठीसहित आक्रमण गर्न आउनुभयो । एक तलामाथिको झ्यालबाट हाम फालेर साथीहरूले ज्यान जोगाउनुभयो,’ उनले भने, ‘धन्न हाम फालेको ठाउँमा बालुवा थियो, त्यसैले केही भएन ।’ आक्रमणकारीहरूले अस्पतालको झ्याल–ढोकाका सिसा फुटाएका छन् ।
एक्कासि आक्रमण सुरु भएपछि उपचारमा व्यस्त चिकित्सक र स्टाफ नर्सहरूको भागाभाग भएको थियो । चार चिकित्सक र नर्सले माथिल्लो तलाको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । केही स्वास्थ्यकर्मीलाई आक्रमणकारीले लखेटेर कुटपिट गरे । ज्यान जोगाउन शौचालयमा लुकेका पिपिई लगाएका नर्सहरूलाई उनीहरूले घाँटी अठ्याउने र लात्तीले हानेको अस्पताल प्रशासनले जनाएको छ ।
एकाएक तोडफोड र आक्रमण हुन थालेपछि ज्यान जोगाउन झ्यालबाट हाम फालेको स्टाफ नर्स अस्मिता गुरुङले बताइन् । ‘सिनेमामा गुन्डाले जस्तै आतंक फैलाए, झ्यालबाट हाम नफालेको भए हामी त्यहीँ मारिन्थ्यौँ, उनीहरूले ठुल्ठूला लाठा बोकेका थिए,’ उनले भनिन् । ज्यान जोखिममा राखेर बिरामी हेरिरहेको वेला भएको उद्दण्ड व्यवहारले काम गर्ने जाँगर मरेको उनले बताइन् ।
अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले अन्धाधुन्ध रूपमा तोडफोड र हातपात हुन थालेपछि चिकित्सकसहित स्टाफ नर्स काम छोडेर भागेको बताइन् । ‘घटना प्रत्यक्ष देखेका स्टाफ नर्सहरू वार्डमा जान मानिरहेका छैनन्,’ उनले भनिन्, ‘डरले कामिरहेकाले काम गर्न सक्ने मनस्थितिमा छैनन् स्टाफ नर्स । सुरक्षाको ग्यारेन्टी नभए काम गर्न गाह्रो छ ।’
दोषीलाई कारबाही माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित
चिकित्सकमाथि आक्रमण भएपछि सुरक्षा व्यवस्थालाई लिएर स्वास्थ्यकर्मी आन्दोलित भएको बताएका छन् ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरूले राजनीति चाहिँदैन, स्वास्थ्यकर्मी कुट्न पाइँदैन, नो सेक्युरिटी, नो वर्क, दोषीलाई कारबाही गर, हामीलाई न्याय चाहियो, नेताको पावर चाहिँदैन, पुलिस प्रशासन हायहाय लगायतका नारा लगाउँदै अस्पताल परिसरमै विरोध जनाएको छन्।
मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एकजना चिकित्सक घाइते भएका छन्। ‘आइसियु कक्षमै डाक्टर र नर्सहरूमाथि हातपात भएको’ प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अन्सारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।
३ जना पक्राउ
आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।
छानबिन समिति गठन
कुटपिटको घटना छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि समेत राखिएको छ । समितिले आजैबाट काम थाल्ने र ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने कार्यादेश पाइएको सहायक प्रजिअ विष्टले जानकारी दिए ।
समितिमा मेडिकल एसोसिएसनको तर्फबाट विनोद कर्ण, अस्पताल व्यवस्थापन समितिको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, नर्सिङ एसोसिएसनको तर्फबाट लक्ष्मी ओली सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका एक चिकित्सक रहेका छन् ।