लक्ष्मण ओली
केही वर्ष पहिले मलाई एकजनाले एउटा पुस्तक दिनुभयो ‘सेतो लुगा भित्र कालो मन’ । मैंले अचम्म मान्दै के बुक हो ? भनी तत्काल प्रश्न गरे। सर मेरो पीडा र भोगाई हो । तपाईंको व्यक्तिगत पीडा र भोगाई हामीले किन पढ्नु ?
हेर्दा दयनीय अवस्थामा देखिने ती व्यक्ति कुनै ठूलो विपत्तिबाट निस्केको जस्तो देखिन्थ्यो नै । पुस्तक पढ्दै जाँदा रैछ उहाँको आमाको उपचारको क्रममा मृत्यु भएको कारण यो पुस्तकको सृजना गरिएको ।
उहालाई लागेछ नर्स र डाक्टरले मेरो आमालाई बचाइदिएनन् । चाहेको भए बचाउन सक्थे । लापरबाही गरे र मेरो आमा मरिन् । त्यसैले नर्स र डाक्टर भनेका दुस्मन हुन ।
कतिपय समाचार यस्ता पनि आउँछन् । जहाँ चिकित्सकले लापरबाही गरे । अस्पताल घेराउ भयो । डाक्टर कुटिए । नर्स कुटिए ।
तर मलाई के लाग्छ भने उपचारको क्रममा जति मान्छेको मृत्यु हुन्छ ती सबै नर्स, डाक्टरको लापरबाहीले मृत्यु भएको होइन । सबै बिरामीलाई उपचार गरेर बचाउन सकिने भए सायद यहाँ कोही पनि मर्नु पर्थेन होला, कम्तीमा तिनै नर्स, डाक्टरका परिवारका मान्छे कोही पनि मर्थेनन्। अझैं ती नर्स, डाक्टरहरु त झन मर्ने कुरै भएन !
परिक्षा मा छोरो पास भएपछि मेरो छोरो मेहनती छ, मैले खुब लगानी गरेको छु, मेरो छोरो केही गर्छ भन्ने । फेल भयो भने मास्टर त त्यस्तो छ त्यसले पढाएको छोरो कस्तो होला । यी मास्टरले मेरो छोरो खत्तम पारे भन्ने जस्ता साेचाइ हाम्रो समाज को प्रतिविम्ब हो ।
युद्दमा होमिएको सिपाही, लडिरहेको सिपाहीको पछाडी अरु २/३ जना सिपाही साथी सपोर्ट रूपमा हुन्छन् । उसको गोली सकियो भने गोली पास गर्न, हतियार बिग्रियो भने फेर्न, उसलाई भोक प्यास लाग्यो चिउरा पानी सप्लाई गर्न, घाइते भयो भने उद्धार गर्न, औषधी गर्न, पछाडि साथी खडा हुन्छ । यदि उ मर्यो भने उसको ठाउँबाट लड्न अर्को साथी तयार हुन्छ।
यी सेता बस्त्र लगाएका नर्स, डाक्टर भनेका त्यही लडाइँका सिपाही हुन अहिले । कोरोना सँग विश्वयुद्धमा होमिएका छन् । तर यी बेसाहारा छन् । न यिनलाई कोही प्यास लाग्दा पानी दिन्छ । न भोक लाग्दा चिउरा । गोली सकिँदा, हतियार बिग्रँदा सप्लाई गर्ने कोही छैन । न घाइते हुँदा मलम लगाइदिने कोही छ !
सुन्यौं, एउटा मास्क समेत किनेर लगाउन पर्छ । उसको पछाडि को छ भनौं ? छ त कोरोना । दुई खाले कोरोना । एउटा कोरोनाबाट बच्न भ्याक्सिन लगाए, पिपिई लगाउँछन्, मास्क सेनिटाइजर लगाउँछन् ।
अर्को खाले कोरोना बाट बच्ने अहिलेसम्म न कुनै भ्याक्सिन छ न कुनै पीपिई । मानवरूपी दानवहरु । जो सधैं नर्स, डाक्टरलाई आफ्नो दुस्मन सम्झिन्छन् । उनैले मान्छे मरेको ठान्छन् । उनको पद र पैसाले मरेको मान्छे पनि बचाइदिन पर्ने जस्तो गर्छन् । जब डाक्टरले मरेको मान्छे बचाउन नसकिने कुरा गर्छन् अनि डाक्टरलाई झम्टिन्छन्, कुट्छन, पिट्छन् ।
लखेटी लखेटी मार्न खोज्छन् । यही हो हाम्रो महानता । हाम्रो गौरव । हाम्रो परिचय । हामी नर्स, डाक्टरलाई कुटेर आउँदा गर्व गर्छौं ।
कसैलाई पनि थाहा छैन झैँ गर्छन् की नर्स, डाक्टर लाई पनि भोक लाग्छ । थकाइ लाग्छ । प्यास लाग्छ । निद्रा लाग्छ । अझैं भनौँ बाँच्न मन लाग्छ । तर यो थाहा छ मेरो बिरामीलाई स्लाइन पानी यिनैले चढाउँछन्, बाँचोस् भनेर ।
आफैं मरेर अरुलाई बचाउँछ कोही भने ती नर्स, डाक्टर नै हुन् । तर त्यो कोही बुझ्दैन । बुझ्न पनि चाहन्न । यही कोरोना बिरामीको उपचारमा खटिने कति स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेको छन् ।
घरमा बुढा बा र आमा, सानो बच्चा छोडेर दिनरात हाम्रै बिरामी आफन्तको हेरचाह गर्छन्, हामी सोच्छौं की उसको ड्युटी हो । तलब खाएका छन् । जबकि हामी कोरोना वार्ड सम्म नजिक जान पनि मृत्यु लोकको गेटमा पुगेँ जस्तो गर्छौँ । जहाँ उनीहरू सातै दिन चौबिसै घन्टा घुमिरहेका छन् । हाम्रा आफन्तको कसलाई के कुन अफ्ठेरो छ के कुन औषधी दिनु छ । अनि फेरि घर जान्छन् बुढा भएका बा आमालाई तातो पानी तताएर दिन्छन्, बच्चालाई दूध चुसाउछन् ।
यो जोखिम र बाध्यता हामी देख्दैनौं । हामी देख्छौं मेरो बिरामीलाई औषधी खुवाउन ढिला भयो । हामी यो देख्दैनौं एक जना नर्सले ४०/५० जना बिरामीको हेरचाह गर्नुपर्छ ।
उनीहरूको उपचारले को कति बाँचेर गए हामीले उनीहरूलाई कहिलै धन्यबाद सम्म भनेका छौं ? कहिल्यै सम्मान गरेका छौं ? फूलमाला लगाइदिएका छौं ? मृत्युको मुखबाट झिकेर घर पठाउने यी भगवानलाई कहिलै फलफूल लिएर भेट्न गएका छौं ? अहँ छैन ।
तर हामीले तिनीहरूको किचकिच याद गरेका छौं, तिनीहरू नबोली बाटो काटेको याद छ, मेरो बिरामी छट्पटाएको बेला डाक्टर कुद्दै नआएको याद गर्छौ । खुब सानले भन्छौँ छोरी बिग्री नर्स भनेर ।
हाम्रो यो दरिद्र मानसिकता यो लाखौंको ज्यान लिने गरेर आएको महामारीको बेलामा समेत परिवर्तन हुन सकेन् । आफ्नो ज्यानको समेत प्रवाह नगरी कोरोना बिरामीको उपचारमा खटिने सच्चा राष्ट्र सेवक स्वास्थ्यकर्मी हाम्रा साक्षात् भगवान् हुन् । आफन्त कोरोना पोजेटिभ भयो भन्दा हामी चार कोष टाढा सर्छौं तर ती नर्स, डाक्टरले आफ्ना बच्चा जसरी काखमा लिन्छन् र आमाले स्याहारे झैँ स्याहारेर बचाउँछन् । ती महा मानव यो बेला पूज्य नभएका कहिले हुने हुन् ?
ए कलियुग एउटा मात्र सद्बुद्धि दिनु छ भने हामीललाई नर्स, डाक्टर प्रति हेर्ने दृष्टिकोण सही बनाइदे । त्यति बुद्दी जोगाइदे । हामीलाई जोगाउने काम त उहाँहरू गरिहाल्नु हुन्छ । उहाँ, तपाईं पछिको भगवान नै हो । भगवान सँग मेरो प्रार्थना छ यो महामारीबाट नर्स, डाक्टरलाई बचाइदे । हामीलाई त उहाँहरू बचाईहाल्नु हुन्छ ।