• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

‘यौन दुर्व्यवहारमा परेका युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखियाे’


जेठ २३, सुर्खेत ।

राष्ट्रिय मानवअधिकार आयोगले राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो । सो घटनाको अनुगमन पछि एक विज्ञप्ति जारी गर्र्दै आयोगले पीडित युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्ने सक्ने देखिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘स्थानीय तीनजना युवाहरुले राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न वाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको छ ।’

यसअघि पनि ती दुई युवतीहरूलाई राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाएको अनुगमनबाट जानकारी प्राप्त भएको आयोगको दाबी छ ।

आयोगले पीडित युवतीहरूको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न, उनीहरुको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ ।  आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस सम्बन्धमा अनुगमन गरेको थियो ।

आदिवासी जनजाति महासंघद्वारा पनि भर्त्सना

नेपाल आदिवासी जनजाति महासंघले आदिवासी पनि घटनाकाे घोर भर्त्सना गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संस्थाले जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य हो भन्दै यौन हिंसालाई चरम मानव अपराध ठहर गरेको छ ।

‘घटनामा संलग्नमाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडा कार्बाही अगाडि बढाउन राज्यका सम्पूर्ण निकायहरूलाई महासंघ जोडदार आग्रह गर्दछ’, अध्यक्ष जगतबहादुर बरामद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै संस्थाले मञ्जुरी र स्वीकृति विना सार्वजनिक भएका भिडियो तथा तस्विरहरूलाई सरकारको सम्बन्धित संयन्त्रले सिस्टमबमोजिम हटाउन समेत माग गरेको छ ।

ती युवतीलाई दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार