• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

यौन दुर्व्यवहारमा परेका राउटे युवतीको भिडियो र फाेटाहरु हटाउन माग


जेठ २३, सुर्खेत ।

नेपाल आदिवासी जनजाति महासंघले आदिवासी राउटे समुदायका दुई युवतीहरूमाथि भएको यौन दुर्व्यवहारको घोर भर्त्सना गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै संस्थाले जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य हो भन्दै यौन हिंसालाई चरम मानव अपराध ठहर गरेको छ ।

‘घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडा कार्बाही अगाडि बढाउन राज्यका सम्पूर्ण निकायहरूलाई महासंघ जोडदार आग्रह गर्दछ’, अध्यक्ष जगतबहादुर बरामद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै संस्थाले मञ्जुरी र स्वीकृति विना सार्वजनिक भएका भिडियो तथा तस्विरहरूलाई सरकारको सम्बन्धित संयन्त्रले सिस्टमबमोजिम हटाउन समेत माग गरेको छ ।

यसैबीच राउटे परिवारलाई पचिय–पत्र दिएको दैलेखको गुराँस गाउँपालिकाले युवतीसँग दुव्र्यवहार गर्नेलाई कडा भन्दा कडा कारबाही को माग गरेको छ ।

राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराउँदै संरक्षणका गरिरहेको दैलेखको गुराँस गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई वास्तविकता छानविन गरि कानुनबमोजिम कारबाही गर्न माग गरेको हो ।

‘फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लिल क्रियाकलाप गरेको भिडियो विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको प्रति यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’

गाउँपालिकाका अध्यक्ष खेमराज वलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी), भुपेन्द्र बुढा र होटल सञ्चालक बिनोद पुनलाई घटनाको वास्तविकता छानबिन गरी कानुनको दायरमा ल्याई हदैसम्मको कारबाहीका लागि जोडदार माग गर्दछौं ।’

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार