• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय, काँग्रेस तटस्थ रहने


जेठ २५, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए ।

बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराले जानकारी दिए ।

तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए । तर बहुमत पक्षले फरक मत पनि राख्न नदिएको एक सांसदले बताए ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् ।

प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद छन् । एमाले संसदीय दलमा खनाल–नेपाल पक्षको बहुमत छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ मध्ये ७ सांसद खुलेर लागेका छन् ।

प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।

विश्वासको मतसम्बन्धी प्रस्तावबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले तटस्थ भूमिका निर्वाह गर्ने भएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले ‘नो भोट’ को नीति लिने निर्णय गरेको हो ।

काँग्रेस सचेतक टेकबहादुर रैकाका अनुसार प्रदेश सरकारले विश्वासको मत नपाउने अवस्थामा मात्र सरकारको निरन्तरताका लागि आफूहरुले भूमिका निर्वाह गर्नेगरी काँग्रेसले रणनीति बनाएको थियो ।

तर सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलले नै सरकारको पक्षमा विश्वासको मत दिने निर्णय लिइसकेको र सरकारले प्रदेशसभामा बहुमत हासिल गर्ने प्रस्ट देखिएको अवस्थामा आफूहरुले तटस्थ रहने निर्णय गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार