• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

दीपक मनाङेले टीम च्यान्ज गरे


जेठ २७, पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए ।

संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई दोहोर्‍याए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले विहीबार (२७ गते) प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

गण्डकीमा एमालेको बहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद दिपक मनाङे अन्तिम समयमा गुरुङको पक्षमा नउभिएपछि सरकार संकटमा परेको छ । यदि मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् ।

अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएकाले गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।

गण्डकीमा एमालेका २७ जना सांसद छन् भने कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी (जसपा)का २ जना र स्वतन्त्र दिपक मनाङे छन् । विपक्षी गठबन्धनसँग अहिले ३० संख्या छ । मनाङेले साथ दिएमा गुरुङ सरकार ढल्नेछ ।

उनले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको भन्दै विपक्षले बहुमत पुर्‍याउने अवस्था आएमा साथ दिने बताएका छन्

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार