• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

नेपालमा यस्ता गाउँपालिकाका अध्यक्ष, जसले पिठ्यूँमा काेराेना संक्रमित बोकेर अस्पताल लिन्छन्


जेठ २७, खाेटाङ ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले कोरोना संक्रमित बिरामी बाेकेर अस्पताल पुर्याउने गरेका छन् ।

उनका अनुसार गाउँपालिका क्षेत्रमा सडक पुगेको छ। तर, जनताको घर-घरमा पुगेको छैन। त्यसो त वृद्धवृद्धालाई बोकेर भएपनि गाडी भएको ठाउँसम्म पुर्‍याउनुपर्ने बाध्यता छ।

‘म कुनै भाइरल हुन यो समयमा संक्रमित बोकेको होइन, मेरो पनि परिवार छन्‌, यस्तै बेला त हो नि जनप्रतिनिधिले जनतालाई सहयोग गर्नुपर्ने भनेर डोकोमा भएपनि बिरामी बोकिरहेको छु,’ उनले भने।

अहिले धेरैजसो नेता हुन्‌ या जनप्रतिनिधि, आफू चर्चामा आउनका लागि अनेक क्रियाकलाप गरिरहेका हुन्छन्‌। यस्ता घटनाहरू धेरै पनि छन्‌। तर, उनी भाइरल हुनलाई नभई बाध्यताले पनि बिरामी बाेक्ने गरेकाे बताउँछन्।

भन्छन्‌, ‘यो मेरो रहर होइन, कर्तव्य हो, जिम्मेवारी पनि, यही चुनावमा वाचा गरेको थिए।’ उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर संक्रमित बिरामी बोक्ने गरेको सुनाए। ‘मास्क, पञ्जा, पीपीई लगाएर स्वास्थ्य मापदण्ड अपनाएको छु,’ उनले भने, ‘संक्रमित हुने डर भएपनि जनतालाई त बचाउनुपर्‍याे नि!’

४३ वर्षका अध्यक्ष राई जहाँ कोरोना संक्रमित छन्, त्यहीँ पुगेर अवस्था बुझिरहेका छन्‌ । आत्मबल बढाउन बिरामीलाई सुझाएका छन्‌ । गाउँपालिकामा एम्बुलेन्स अभाव भएपछि राईले आफू सवार हुने गरेको गाडीलाई नै अहिले एम्बुलेन्सका रूपमा प्रयोग गरिरहेका छन्‌।

​उनका अनुसार बेलायतमा बस्ने नेपालीहरूले नै गाउँपालिकाका लागि एउटा एम्बुलेन्स खरिद गरिदिएका थिए। बिरामी बोक्दाबोक्दै त्यो एम्बुलेन्स पनि बिग्रियो।

‘एम्बुलेन्स नभएकाले म चढ्ने गाडीमा नै अहिले ७ वडाकै बिरामी बोकिरहेको छु, यो म मात्रै चढ्ने होइन-समस्या परेका बेला जनता पनि चढ्ने गाडी हो,’ उनले भने।

उनका अनुसार गाउँपालिका वडा-१ मा २५ बेडको कोभिड अस्पताल बनाइएको छ। अहिले त्यही ठाउँमा कोरोना उपचार भैरहेको छ। तर, पर्याप्त मात्रामा अक्सिजन, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा समस्या परिरहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार