• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

यि हुन् महेश बस्नेत मन्त्री नबन्नुका ४ कारण


जेठ २७, काठमाडाैं ।

विभिन्न सञ्चार माध्यममा महेश बस्नेत दाेस्राेपटक मन्त्री बन्न लागेका समाचारहरु व्यापक आइरहेका थिए । तर, विहीबार मन्त्रिपरिषद विस्तार हुँदा महेश बस्नेतकाे मन्त्री हुने चाहना पुरा भएन् ।

बस्नेत मन्त्री नबन्नुका चार कारण यस्ता छन् ।

पहिलो कारण– बस्नेत मन्त्री बन्न लागेको चर्चा मिडियामा व्यापक बनेको थियो । बस्नेत आफैं टीभीमा अन्तरवार्ता दिँदै हिँडेका थिए । ‘आफ्नो नियुक्ति हुनुपूर्व मिडियामा यसरी चर्चा भयो भने प्रधानमन्त्री ओलीलाई रीस उठ्छ,’ स्रोतले भन्यो, ‘बस्नेतले आफैं मन्त्री बन्नका लागि प्रचार गर्दै हिँडेको प्रधानमन्त्रीज्यूलाई लाग्यो र उहाँले नाम काटिदिनुभयो । मिडियामा हल्ला–खल्ला नगरी बसेको भए कुनै न कुनै एउटा मन्त्रालयको जिम्मेवारी आउन सक्थ्यो ।’

दोस्रो कारण– अघिल्लो मन्त्रिपरिषद गठनका बेला प्रधानमन्त्रीले राखेको प्रस्ताव राष्ट्रपतिले अस्वीकार गरेको भन्ने ढंगको समाचार कतिपय मिडियामा आयो । त्यस्तो समाचार लेख्ने मिडिया बस्नेतकै नजिकको रहेको भन्दै प्रधानमन्त्रीलाई  निकटस्थहरुले सुनाएपछि प्रधानमन्त्री बस्नेतसँग रुष्ट बने ।

तेस्रो कारण– पछिल्लो समय बस्नेत केही विवादहरुमा रुमलिएका थिए । जस्तो– जसपाका सांसद सुरेश यादवलाई सर्वेन्द्र खनालसँग मिलेर ‘अपहरण’ को प्रयास गरेको आरोप उनीमाथि छँदै थियो, वैशाख २७ मा ओलीले विश्वासको मत लिँदै गर्दा जसपा नेताहरुलाई भक्तपुरको एउटा रिसोर्टमा राखेर उनले फोटो सेसन गराएका थिए । त्यस्तै, गण्डकीमा दीपक मनाङ्गेसँग मिलेको आरोप पनि उनीमाथि लागेको थियो ।

यस्ता प्रकरणहरुका कारण विशेष गरी प्रहरी प्रशासन महेश बस्नेतप्रति सकारात्मक थिएन । बालुवाटार स्रोत भन्छ, ‘गृहमन्त्रीमा को आउँछ भन्ने प्रहरीलाई चासो हुन्छ र प्रधानमन्त्रीमाथि उनीहरुको पनि दबाब रहन्छ ।’

र, चौथो कारण– अहिले कामचलाउ सरकारमा लगिएका नेताहरुलाई प्रधानमन्त्री ओलीले आगामी चुनावमा टिकट दिने सम्भावना कम छ । महेश बस्नेत आगामी चुनावमा भक्तपुरबाट टिकट पाउने र चुनावी अभियानमा देशैभरि खट्न सक्ने नेता हुन् । यस कारणले पनि उनलाई मन्त्री नबनाइएको बालुवाटार स्रोतको तर्क छ । जस्तो– माधव नेपाल समूहबाट मन्त्री बनेका गणेश पहाडीले आगामी चुनावमा सिन्धुलीबाट टिकट पाउने सम्भावना छैन, त्यसैले उनलाई मन्त्री बनाइएको बालुवाटार स्रोत बताउँछ । -रातोपाटीबाट

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार