• २०७८ कार्तिक ७ गते आइतवार
  • Preeti To Unicode

युवाहरू पार्टीकाे पुच्छर बनेर होइन देशभक्त बनेर विकास कार्यमा जुटौं


भुवन केसी

समय र परिस्थितिअनुसार आफुलाई परिवर्तन गर्दै चुनौतीहरुको सामना गरेर आफ्नो छुट्टै अस्थित्व बनाउने हर कोहिको इच्छा हुन्छ । तर इच्छा पूरा गर्नेको लागि हामीले धेरै चुनौतीहरुको सामना गर्नुपर्छ र सफलताको लागि अधिक मेहनत गर्नुपर्छ ।

समयको अर्थ नबुझ्नेहरु पछाडी पर्छन् र सभ्यताबाटै लोप भएर जान्छन् अर्थात समाप्त भएर जान्छन् भने समयको महत्त्व बुझ्नेहरुले समाजमा वा राष्ट्रमा आफ्नो छुट्टै पहिचान र अस्तित्व बनाउने गर्दछन । मानव समुदायमा जीवन निर्वाहका लागि हामी सबैले केही न केही गर्नुपर्छ ।

हामी जे इलम गरेर जीवन निर्वाह गर्छौ त्यसलाई नै रोजगार भनिन्छ । कतिपय युवाहरुले बाच्नका देश छोडेर विदेशमा संघर्ष गरी जीवन निर्वाह गरेका छन त्यसलाई वैदेशिक रोजगार भनिन्छ । मान्छेका आ-आफ्नो  सपना हुन्छ । आफुले राम्रो काम गर्ने र समाजमा आफ्नो छुट्टै पहिचान बनाई आफू अनि परिवारका सबै सदस्यहरुलाई खुसी राख्ने । ती सपनाहरू कोहि कसैको पूरा हुन्छ त कोहि कसैको अधुरै पनि हुन्छ । यस्तै यस्तै हो हामी सबैको जीवन कहानी ।

त्यसैले हामी सबैले परिवर्तनको चाहाना राख्नुपर्छ । सधैं सत्य तथ्यको खोजी गर्नुपर्छ । यो हामी सबैको रुचिको विषयवस्तु बन्नुपर्छ । हामी निरन्तर यस्तै यस्तै कार्यहरूमा जुट्नुपर्छ । निरन्तर प्रयास र हरदम कोशिस गरिरहनुपर्छ ।

त्यसले हामी युवाहरुको सोचाइ परिवर्तनशिल हुनुपर्छ । यही परिवर्तनशिल सोचाइले गर्दा होला हिजोआज मेरो सोचाइ र उदेश्यमा भने प्रहार हुन थालेको छ। मैले गरेका केहि कार्यहरूमा सकारात्मक प्रतिक्रिया आउँछ भने कतिपयको विरोध पनि आएको छ ।

म करिब ५/६ बर्ष अघि देखि धेरै जसो सहरतिरै बस्छु । वर्षको एक महिना दशै तिहारको विदामा गाउँघरमा आउँछु तर कोरोना महामारीले गर्दा यो वर्ष यो समयमा म गाउँघरमै छु ।गाउँघरमै भएर होला गाउँघरमा भएका गतिविधिहरुलाई देख्छु र मन थाम्न सक्दिन्न ।

त्यसैले देखेका समस्याहरुलाई कहिले फेसबुकमा लेख्छु त कहिले जनप्रतिनिधि समक्ष राख्छु । कोहि कसैले चासो देखाउँदैन र आफै समाधान गर्ने बाटो खोज्छु तर सम्भव देख्छु अनी फेरि मन मारेर बस्छु । अन्य गाउँ ठाँउहरुमा भएको विकासको गति हेर्छु मनमा कयौं प्रश्न उजिन्छ्न । अनि फेरि सोच्न थाल्छु हाम्रो गाउँवस्ती सबै क्षेत्रमा किन पछाडि  ? हामी कमजोर भएर वा जनप्रतिनिधिले चासो नदेखाएर यो म कहिल्यै बुझ्न सकिन् ।

त्यसैले केही अन्धभक्त पार्टीको पुच्छर बनेका झोले युवाहरुलाई मेरो अनुरोध छ । तपाईहरुले एकपटक सोच्नुहोस तपाई युवा हो । युवाहरुले गर्ने काम के हो । समाज परिवर्तन कसरी गर्ने सकिन्छ ? एकपटक आफुले आफैलाई नियालेर मुल्यांकन गर्नुहोस् ।

मेरो अनुरोध छ । एउटा कुरा सधै याद गर्नुहोस्, अरुलाई होच्याएर बोल्दैमा तपाईं कहिले महान बन्न सक्नु हुन्न । राजनीतिको अर्थ बुझ्नुहोस हुन त म भित्र पनि धेरै राजनीति नबुझेर केहि कमजोरीहरु होलान् । वास्तवमा हामी समस्या नै समस्याको भुमरीमा छौं । हामीले देश विकासका लागि गर्नुपर्ने काम कार्यहरू प्रशस्त छन् ।

यहाँ विकासले गति लिन सकेको छैन । भएको जति विकासमा दिगोपन छैन । हाम्रो सामाजिक, आर्थिक, प्रशासनीक क्षेत्रमा ठुलो परिवर्तनको खाँचो छ । मेरो यो पार्टी, तेरो त्यो पार्टीको भनेर झण्डा बोकेर उफ्रिनु होइन विकास निर्माणको कार्यहरूमा एकजुट भएर लाग्नुपर्ने समय आएको छ।

शिक्षित अर्धशिक्षित तथा अशिक्षित श्रमशक्ति विदेशिएको छ । यहाँ कृषि क्रान्ति गर्नु छ । दिनप्रतिदिन उत्पादकत्व घटदै गइरहेको छ । उत्पादकत्व वृद्धिका लागि नवीन प्रबिधिको प्रयोग गरि अत्याधुनिक कृषि युग निर्माण गर्नु छ । जलस्रोतको, जलसम्पदाको दोस्रो धनि देश भएर पनि हाम्रो धेरैका गाउँघर अन्धकार नै छन् ।

विभिन्न गाउँ ठाउँहरुमा खानेपानीको अभाव छ । जसलाई उपयोग गरेर बिजुली बत्ति उत्पादन र गाउँ ठाउँमा खानेपानीको सुविधा पुर्याउनु छ । स्वास्थ्य, शिक्षा, यातायात जस्ता क्षेत्रमा असीमित समस्याहरु छन । गाउँघरसम्म सडक बाटो निर्माण गर्नु छ । घरगाउँमा स्कुल बनाउनु छ ।रोजगारको अवसर सिर्जना गर्नु छ ।

देश बनाउने सपना देखाएर हामी जस्ता गरिब निमुखाकै पिठ्युँ चढेर सत्तामा पुगेकाहरु ब्यक्तिगत स्वार्थ र अहम्लाई महत्त्व दिएर आपसमै खिचातानी गरेर देशको स्थिति यस्तो छ, उस्ताे छ, देश भताभुङ भएको छ जस्ता दृश्य हाम्रो सामु प्रशस्त देखिएको छ ।

अहिलेकाे राजनीति समाज सेवा र देशका नागरिकको हक हितको लागि होइन सत्तामा पुगेर कमाई खाने भाँडो बनेको स्थिती छ । राजनीति एउटा पेसा जस्तो भएको छ । हाम्रो जस्तो विकासशील मुलुकका गाउँहरु आज सुरक्षीत छैनन् । कोरोना महामारी छ । बस्ने बाँस र खाने गाँसको अभाव छ । प्राकृति विपत्तिले त्रासै त्रास छ । कतै बाढी पहिरोले बगाएको छ त कतै बस्तीहरु डुबानमा पारेको छ। सरकारलाई आफ्नो सत्ता जोगाउनमा कठिन छ ।

अब थोरै हाम्रो स्थानीयतहको सरकारका कुरा जोडौं । चार विर्ष बित्दा पनि थाेरै प्रगति देखिएपनि अवस्था उस्तै छ । न विकासले गति लिएको छ । न कुनै परिवर्तन भएकाे छ । खाली खाली गफ लगाए जस्तै भएकाे छ ।

यस्तो कुरा गर्दा कतिपय अन्धभक्तहरुलाई विरोध गरेको जस्तो लाग्छ । त्यसैले राजनीती खिचातानी छाेडाैं, हामी नेपाली हाैं र हाम्राे पार्टी नेपाल राष्ट्र हाे । हामी समग्र देशकै कार्यकर्ता हौं भन्ने भावना बोकौं अनि मात्र देश बन्छ । हामी युवाहरु राजनीतीकर्मी र राजनीतीक दलकाे झिनाे स्वार्थका कारण आफ्नाे पेशा, आचरण र सामाजिक प्रतिष्ठा भुलेर ‘तपाईं-मपाई, तँ-मँ’ जस्ता कार्यमा सहभागी हुन थाल्याै भने सम्झनुस दिन ढल्कने छ, पछुताउने बाहेक अरु केहि हुँदैन् ।

राजनीतिक चेतना अनिवार्य तथा अपरिहार्य छ । तर पेशाकै रुपमा राजनीती, राजनीतीकर्मीले अंगालेकाे राम्राे मानिन्छ । हामीले हाम्राे कामलाई ईमान्दारीताका साथ निर्वाह गराैं देश तब बन्छ । त्यसैले पार्टीको अन्धभक्त भइ मेरो यो पाटी, तेरो त्यो पाटी भन्ने भावना मन देखिनै हटाउँ र देशप्रेमी बनौं । सकारात्मक बिचार धारा बोकेर काम गर्नेहरुलाई प्रोत्साहन गरौं नकारात्मक बिचार धारा बोकेका सामाजिकहित बिपरितका कार्य गर्नहरुको विरोध गरौं ।

लेखक भुवन केसी राेल्पा गंगादेब गाउँपालिका ६ निवासी हुन् ।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार