• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

जसपा विवाद : उपेन्द्रकाे पक्षमा ३४, महन्तकाे पक्षमा १६


साउन ११, काठमाडौँ ।

जसपाको आधिकारिता विवाद सम्बन्धीको सनाखत सकिएको छ । निर्वाचन आयोगले सोमबार ‘हेड काउन्ट’का लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो ।

उपेन्द्र यादवसँग ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका छन् ।

यस्तै निलम्बित सांसद् समेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले तटस्थ बसेका छन् । सनाखत सकिएसँगै निर्वाचन आयोगले केहीबेरमा जसपा आधिकारिकता सम्बन्धीको निर्णय गर्दैछ ।

महन्थ आफैँ प्रतिगमनको पक्षमा जानुभयो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी जसपाको अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई आफूहरूले ननिकालेको बताएका छन्।

पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगमा पुगेर सनाखत गरेर फर्किएपछि अध्यक्ष यादवले भने, ‘उहाँहरू आफैँ प्रतिगमनको पक्षमा जानुभयो। ठूलो ताला लगाएर ढोका बन्द गरेका होइन, न त घोक्रायाएर पठाइका हौँ।’

पार्टीमा अनुशासित भएर काम गर्ने सबैलाई ठाउँ दिइने पनि उनले बताए। ५१ सदस्सीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन्। त्यस्तै, कारागारमा रहेका रेशम चौधरीले सनाखत गर्न बाँकी छ। उनलाई आजै आयोगमा पुगेर सनाखत गर्ने व्‍यवस्था मिलाइएको बताइएको छ।

एक वर्षमा नै फुटको अवस्था आउनु दुःखद्: महताे

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनु दुःखद् भएको बताएका छन् ।

आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले भने, ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं ।’

उपेन्द्र यादवको पार्टी संकटमा पर्दा आफूहरुले सहयोग गरेको, तर अहिले प्राविधिक कारण देखाएर पार्टी फुटाउन खोजेको उनको आरोप छ । महतो निकट केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु समेत उपेन्द्र यादवतिर लागेका छन् ।

महतोले पद जोगाउन गएको बताए । उनले भने, ‘पद रक्षा गर्नुपर्ने मजबुरी होला । तर जुन मजबुरीका कारण यताउता गरेको छ, त्यो आज हो, भोलि रहँदैन ।’

 

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार