• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सम्पर्कविहीन भनिएकी सांसद विमला ओली दाङका एसपीको सम्पर्कमा आइन्


साउन १६, काठमाडौं ।

सम्पर्कविहीन भएको भनिएकी लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री (ओली)प्रहरीको सम्पर्कमा आएकी छन् । दाङ ३ (ख) बाट निर्वाचित सांसद विमला बेपत्ता भएको भन्दै उनी आवद्ध माओवादी केन्द्रले खोजी थालेको थियो। उनी दाङ प्रहरी प्रमुख सुरेश काफ्लेको सम्पर्कमा आएकी छन् ।

एसपी काफ्लेले सांसद विमला आफ्नो सम्पर्कमा भएको दावी गरेका छन् । ‘मैले हिजो राति र आज बिहान फोन गरेको छु,’ एसपी काफ्लेले भने, ‘कान र घाँटीमा समस्या देखिएकाले उपचारका लागि नेपालगन्ज आएकी छु भन्नुभएको छ । उहाँ सम्पर्कमा नै हुनुहुन्छ ।’

विमलाले बिरामी भएकाले कसैको फोन नउठाएको बताएको एसपी काफ्लेले बताए । माओवादी केन्द्रले भने आफ्नो पार्टीका नेतासँग विमला सम्पर्कविहीन भएको भन्दै खोजी गरिरहेको छ ।

प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्कविहीन बनेको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए । ‘बिहीबारसम्म हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो, हिजो बिहानदेखि फोन पनि लागिरहेको छैन्,’ चौधरीले भने, ‘फोनको लोकेसन जाँच गर्दा कहिले दाङ देखाउँछ, कहिले बुटवल देखाउँछ, उहाँको कुनै पनि फोन लागेको छैन ।’

ओली केहीदिन अघि मात्रै दाङ आएकी थिइनन् । दाङ आएपछि सम्पर्क विहीन बनेको चौधरीले बताए । उनले भने, ‘अहिले ओलीसँग भएका दुईवटै मोवाईल नम्बरमा सम्पर्क हुँदैन । एनटिसीको नम्बर अफ छ, भने एनसेलको नम्बरमा सम्पर्क हुन सकेन भन्छ ।’

दाङ क्षेत्र नं. ३ (ख)का प्रदेश सांसद उत्तरकुमार वली (विमलाका श्रीमान)को निधनपछि विमलालाई उपचुनावमा तत्कालिन नेकपा पार्टीले टिकट दिएर जिताएको थियो ।

तत्कालिन नेकपाबाट निर्वाचित उनले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किँदा माओवादी केन्द्र रोजेकी थिइन् । तर पार्टीको शनिबार हुने संसदीय दलको बैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद थारुले बताए ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार