• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

माधव नेपालले भारत सरकारको गराए ध्यानाकर्षण


साउन १६, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।

शनिबार अखिल फोर्सको कार्यक्रममा उनले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । उनले घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘यस्तो लापरबाही गर्ने जोसुकै होस्, त्यस्तालाई दण्डित गर्ने काममा भारतको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने, ‘नेपाल सरकारले पनि यो विषय उठाउनका लागि म ध्यानाकर्षण गराउछु ।’

शुक्रबार दार्चुलामा नदी तरिरहेका बेला एसएसबीले तुइनको डोरी काट्दा ब्याँस गाउँपालिकाका युवक जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् ।

यसैबीच संयुक्त विद्यार्थी संगठनका नेताहरुले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । विद्यार्थी नेताहरुले दार्चुला घटनाको विरोध र भत्र्सना गर्दै तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरुका जायज माग सम्बोधन गर्दै रोकिएका परीक्षाहरु सन्चालन गराउन पनि विद्यार्थी नेताहरुले माग गरेका छन् ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको भन्दै विद्यार्थी नेताहरुले उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग समेत गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार