• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

कर्णाली नदीमा डुंगा पल्टियो : ३ जना बेपत्ता, १ जनाकाे शव भेटियाे


साउन १७, सुर्खेत ।

कर्णाली नदीमा आइतबार डुंगा पल्टिएको छ । सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिला सहित ४ जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको छ ।

शव भेटिनेमा एक महिला रहेकी छन् भने गर्भवती महिलासहित अन्यको अवस्था अज्ञात छ । यस्तै एक बालकलाई उद्दार गरेर मोहन्याल गाउँपालिकाको शोल्टा स्वास्थ्य चौकिमा पठाईएको घटनास्थलमा रहेका चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिए ।

डुंगामा १० जना सवार थिए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउने क्रममा डुंगा पल्टिएको उनले बताए ।

बालबालिकालाई नियमित खोप लगाउन उनीहरु मोहन्याल गाउँपालिका अन्तर्गत मलेखाबाट सुर्खेतको विजौरा जाने क्रममा दुर्घटनामा परेका हुन्। वर्षामा बढेको नदिकाे बहाबले डुंगाबाट खसेर बेपत्ता भएकाकाे खोज्न समेत समस्या भएको बताइएको छ ।

नदीमा नुहाउन गएका तीन बालिकाको मृत्यु

यसैबीच कैलालीको भजनी नगरपालिका-९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा तीन बालिकाको मृत्यु भएको छ । शुक्रबार नुहाउने क्रममा भजनी नगरपालिका-९ डोङपुरका धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह, रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरी र धनबहादुर सिंहकी ६ वर्षीया छोरी अनु सिंहको मृत्यु भएको हो ।

लक्ष्मी र जेनीको शव शुक्रबार नै फेला परेको थियो भने बेपत्ता भएकी अनुको शव शनिबार फेला परेको हो ।

शनिबार बिहान साढे ७ बजेतिर सोही नदीको करिब ३ किलोमिटर पर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । कान्द्रा नदीमा नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हो ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार