• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

माओवादीबाट मन्त्री बन्ने लाइनमा लागेका काे-काे छन् ?


साउन १८, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए।

बैठक सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने विषयमा केन्द्रित हुने बताइएको छ।  आइतबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको बैठकले मन्त्रीको नाम टुंगो लगाउने र एक दुई दिनमै सरकारले पूर्णता पाउने बताएका थिए ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने र एमालेमै फर्किने सम्भावना देखिएको बैठकलाई ब्रिफिङ गरेका थिए ।

माधव समूह सरकारमा सहभागी नहुने भएपछि मन्त्रीको नाम टुंगो लगाएर मन्त्रिमण्डललाई पूर्णता दिन तयारीमा माओवादी लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल सहभागी छन्। माओवादीको भागमा ७ वटा मन्त्रालय परेको बताइएको छ ।

माओवादीबाट मन्त्रीका आकांक्षी

आजको बैठकबाट देउवा सरकारमा पठाउने मन्त्रीको टुंगो लाग्ने अनुमान छ ।

माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ ।

आकांक्षी धेरै देखिएपछि माओवादीमा मन्त्री छनोट सकसपूर्ण बनेको छ ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार