साउन २९, सल्यान ।
सल्यानबाट एक वर्षमा एक अर्ब ६२ कराेड बढीकाे कृषि, पशु तथा वन पैदावार जिल्ला बाहिर निर्यात भएकाे छ । कृषि कार्यालय सल्यान र पशु कार्यालय सल्यानले दिएकाे जानकारीअनुसार आर्थिक २०७७/०७८ मा तरकारी, फलफुल, वन पैदावर, पशुपंछी तथा नगदेवाली निकासीबाट एक अर्ब ६२ कराेड ६४ लाख ११ हजार रकम जिल्ला भित्रिएकाे छ ।
साढे ३६ करोडकाे अदुवा
कृषि कार्यालय सल्यानकाअनुसार अदुवा बिक्रीबाट ३६ करोड ५३ लाख रुपैयाँ जिल्ला भित्रिएको हो । जिल्लाबाट १५ हजार २७२ मेट्रिकटन अदुवा निकासी भएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम र कृषि विकास कार्यालयले विभिन्न ब्लक कार्यक्रममार्फत अदुवा खेतीतर्फ किसानहरूलाई आकर्षित गर्दै आइरहेको उनको भनाइ छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले अदुवा उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको भएपनि जिल्लामा भने अदुवा उत्पादन वर्षेनी घट्दै गएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २०९० हेक्टर क्षेत्रफलमा अदुवा लगाएकोमा २८ हजार ३९२ मेटिक्टन उत्पादन भएको थियाे ।
यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ७२० हेक्टर क्षेत्रफलमा २५ हजार ८०० मेटिक्टन मात्र अदुवा उत्पादन भएको थियाे । आर्थिक २०७७/०७८ मा भने त्याे घटेर १५ हजार २७२ मेट्रिकटन उत्पादन भएकाे हाे ।
सल्यानकाे अदुवा दाङ, नेपालगन्ज, सुर्खेत, बुटवल, धनगडी लगाएत भारत तथा तेस्राे मुलुकसम्म जाने गर्दछ ।
साढे २० कराेडकाे तरकारी
सल्यानबाट आर्थिक २०७७/०७८ मा २० करोड ५२ लाख रुपैयाँकाे तरकारी निकासी भएकाे छ । यस वर्ष ८ हजार ५ सय ५० मेट्रिक टन ताजा तरकारी निकासी भएको कृषि कार्यालयले जनाएको छ ।
बेमाैसमी तरकार खेतिकाे लागि सल्यानकाे कपुरकाेट नेपालकै दाेस्राे क्षेत्रका रुपमा परिचित छ कोरोना महामारीले गर्दा याे वर्ष तरकारी बिक्रीमा समस्या देखिएकाे किसानहरु बताउँछन् । जसले गर्दा अघिल्लाे वर्ष भन्दायाे वर्ष तरकारीकाे मुल्य घटेकाे समेत उनिहरुकाे भनाइ छ ।
कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्ला भर ३ हजार २ सय २ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आइरहेको छ ।
७ करोड ८५ लाखकाे सुन्तला
सल्यानमा आर्थिक वर्ष २०७७/०७८ मा भने सुन्तला उत्पादनमा ह्रास आएकाे छ । अघिल्लाे वर्ष ३० कराेड बढीकाे सुन्तला उत्पादन भएकाे सल्यानमा आर्थिक वर्ष २०७७/०७८ मा ७ कराेड ८५ लाखकाे मात्रै सुन्तला निर्यात भएकाे छ ।
सुन्तला उत्पादनका लागि साविक राप्ती अन्चल क्षेत्रमै प्रख्यात मानिने सल्यानकाे काेटमाैलामा आव २०७७/०७८ मा उत्पादनमा ह्रास आएकाे हाे । यहाँका किसानहरुले परम्परागत खेति छाेडेर व्यवसायीक रुपमा सुन्तला उत्पादन गर्दै आएका छन् ।
सल्यानमा सुन्तला पाउने ठाउँहरुमा कोटमौला, कोटबारा, दमाचौर, लेखपोखरा, चाँदे, फलावांङ्ग, सेजवालटाकुरा, लस्तम, खाली लगाएतका स्थानहरु रहेका छन् ।
५ कराेडकाे आलु, २ कराेडकाे बेसार
सल्यानको बाफुखोलाबाट ५ कराेड बढीकाे आलु निकासी भएकाे छ । याे वर्षकाे जेठ, असार र साउनमा गरेर ५ कराेड २ लाख २० हजार आलु निकासी भएकाे कृषि कार्यालय सल्यानले जनाएकाे छ ।
बर्खे आलु उत्पादन हुने क्षेत्रका रुपमा परिचित जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ बाफुखोलाका किसानहरु व्यवसायीक रुपमा आलु खेति गर्दै आएका छन् ।
बाफुखोलाका किसानहरुले आलुखेतीबाट बर्षेनी मनग्य आम्दानी गर्दै आएका छन् । आलु खेति गरेर बाफुखोलामा एक घरले न्यूनतम ५० हजारदेखि ७ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् ।
तर याे वर्ष भने आलु कुहिएकाे हुँदा धेरै किसानहरु मर्कामा परेका छन् । जसले गर्दा राम्राे मुल्य समते पाएन् ।
त्यस्तै, बेसारबाट २ करोड ६९ लाख रुपैयाँ, मकैबाट २३ लाख ६४ हजार रुपैयाँ, काेदाेबाट१२ लाख ६० हजार रुपैयाँ, महबाट २१ लाख २५ हजार, भटमास २९ लाख २५ हजार, बदाम र तिलबाट १० लाख रुपाैयाँ जिल्ला भित्रिएकाे छ ।
६४ कराेड बढीका बसीबाख्रा
बाख्रा पालनमा पनि सल्यान राम्राे देखिएकाे छ । राम्राे चरिचरण तथा घाँसपात र हावापानी मिल्ने हुँदा सल्यानमा धेरै बाख्रा पालन गर्ने गरिएकाे छ ।
आर्थिक २०७७/०७८ मा खसीबाख्रा निर्यातबाट मात्रै करिब ६४ कराेड २० लाख बराबरकाे रुपाैयाँ जिल्ला भित्रिएकाे पशु कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यले लेकाली अनलाइनलाइ बताए । उनकाअनुसार ४२ हजार ८ सय खसीबाख्रा निर्यात भएका थिए ।
सल्यानमा उत्पादन भएका खसी बाख्रा पाेखरा, काठमाडाैं, दाङ, नेपालगञ्ज, सुर्खेत, जाजरकाेट लगाएतका जिल्लामा बिक्री हुने गरेकाे उनले बताए ।
सल्यान मासुमा आत्मनिर्भर भएर ठुलाे मात्रामा जिल्ला बाहिर निकासी हुने गरेकाे छ । कुखुरामा बाेइलर कुखुरा कुनै महिना बाहिरबाट जिल्ला भित्रिने र कुनै महिनामा जिल्ला बाहिर निर्यात हुने उनकाे भनाइ छ । माछमा भने सल्यान आत्मनिर्भर छैन् । जिल्ला बाहिरबाट सल्यानमा माछा आयात हुने गरेकाे छ ।
१५ कराेडकाे टिमुर, २ कराेडकाे रिठा
सल्यान टिमुरमा नेपालकै धनी जिल्लाकाे रुपमा रहेकाे छ । डिभिजन वन कार्यालयका अनुसार आर्थिक २०७७/०७८ मा सल्यानबाट ४ लाख ३३ हजार २ सय ५० केजी टिमुर निकासी भएकाे छ ।
९५ हजार राष्ट्रिय वन र ३ लाख ३८ हजार २ सय ५० केजी निजी जग्गाबाट टिमुर निर्यात भएकाे हाे । जसबाट १५ कराेड १६ लाख बराबरकाे रकम जिल्ला भित्रिएकाे छ ।
सल्यानबा वन पैदावर पनि उल्लेख्य मात्रामा निकासी हुने गरेको छ । डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी विजय पुलामीकाअनुसार राष्ट्रिय वनबाट २ लाख ४७ हजार ५ सय केजी र निजी जग्गाबाट ११ हजार केजी रिठा निकासी भएकाे छ ।
बजार मुल्य अनुसार २ कराेड रकम बढीकाे रिठा सल्यानबाट निकासी भएकाे छ । त्यस्तै ७६ हजार केजी तेजपात, २५ हजार केजी चाेथ्राकाे बाेक्रा, ७ हजार केजी काउलाेकाे बाेक्रा निर्यात भएकाे छ । वन पैदावारबाट डिभिजन वन कार्यालय सल्यानले २३ लाख ११ हजार ९ सय ५० रुपैयाँ राजश्व संकलन गरेकाे छ ।