• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

काठमाडाैं र काभ्रे डुबानमा


भदाै २१, काठमाडाैं ।

गएरातिबाट परेको अविरल वर्षाका कारण काठमाडौंका करिब १ सय ठाउँमा बाढी पसेको छ । राति १ सय ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएकाे छ ।

मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रमा उद्धार कार्य जारी रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले बताए । ‘अन्य ठाउँमा डुबानको समस्या हटेको छ’ एसपी राठौरले भने–‘मनोहरा खोला किनारामा उद्धार भइरहेको छ ।’

​अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको थियो । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।

गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको थियो । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले १ सय ३८ जनाको सकुशल उद्धार गरेको छ । कुल ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

काभ्रेको बनेपा डुबानमा

त्यस्तै काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ । गएरातिको वर्षा र बाढीले सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको हो । वरपरका घर-पसल जलमग्न भएका छन् । पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या छ ।

पुण्यमाता खोलाको बाढीले राति तीन बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै बाढी पुगेको छ ।

पुण्यमाता खोलाको बाढीले पुल बजार क्षेत्रमा हरेक वर्ष हुने डुबानको समस्या हुन्छ । तर डुबानको समस्या समाधान नहुँदा यहाँका बासिन्दा समस्यामा पर्दै आएका छन् । पुल बजार क्षेत्रमा साना गाडीहरु डुब्ने गरी पानी जम्मा हुन्छ । त्यो भल पार गर्न पानीको सतह कम नभइन्जेल कुरेर बस्नुपर्ने बाध्यता छ ।

अतिक्रमणको कारण खोला साँघुरो छ । अलि ठूलो पानी पर्नासाथ पानी ओभरफ्लो भएर सडक पूरै ढाक्छ । बनेपा बजारमै गाडी डुबाउने भल पार गर्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता हरेक वर्ष आइलाग्छ । तर यो समस्याको दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार