• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

प्रचण्डकी श्रीमती, माधव नेपालका बुबा र झलनाथ खनाललाई पनि पदक


असाेज ३, काठमाडाैं ।

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।

धेरैजसाे पदक गठबन्धन सरकारमा आवद्ध दलका नेता र तीनका परिवारलाई प्रदान गरिएकाे छ । सत्तारुढ गठबन्धनका नेता तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्र गौरव पदक प्राप्त गरेका छन् । खनालसँगै नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेरले पनि मरणोपरान्त सो पदक पाएका छन् । राष्ट्र गौरव पदक पाउने दुईजनामात्र छन् । यो राज्यबाट प्रदान हुने दोस्रो ठूलो मानपदवी हो ।

कांग्रेस पार्टीका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्नबाट विभूषित गरिएको छ । यो राज्यबाट प्रदान हुने सबैभन्दा माथिल्लो विभूषण हो ।

त्यस्तै सत्ता गठबन्धनकै नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालले राजनीतिक अभियन्ताका रुपमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्राप्त गरेकी छन् । यो पदक पाउनेमा मुख्यसचिव शंकरदास वैरागी, प्रधान सेनापति प्रभुराम शर्मादेखि न्यायाधीश अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत छन् ।

यो पदकबाट विभूषित हुनेमा कांग्रेस र माओवादी केन्द्रका जीवित तथा स्वर्गीय नेताहरू धेरै छन् । त्यस्तै सत्तारुढ गठबन्धनकै नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका स्वर्गीय पिता मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिएको छ ।

हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार