• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

पहिरोमा परि गुल्मीमा एकै परिवारका तीन दिदी बहिनीको मृत्यु


असाेज ६, गुल्मी ।

गुल्मीमा गए राति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको ज्यान गएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ थुम्का टोलका तिलक परियारकी जेठी छोरी २१ वर्षीया भावना परियार, उनका १४ वर्षीया जुम्ल्याहा दुई बहिनी गङ्गा र जमुना सहित तीन बहिनीको ज्यान गएको हो । अर्की माइलीलाई छोरीलाई भने सुतिरहेको कोठाबाट बचाउन सफल भएको छिमेकीले बताए ।

घर माथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो। गए राति करिब १ बजेतिर पहिरो खसेको थियो। पहिरोमा पुरिएर तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ।

‘मुस्किलले एउटी छोरी र बाबु आमालाई बचाउन सफल भयौँ,’ छिमेकीहरूले भने, ‘तत्काल गुहार दिने कोही भएन । केही बेर पछि नजिकै रहेको नेपाल प्रहरी नेपाली सेना लगायत आएर शवहरू निकालेका थिए ।’ गङ्गा जमुना दुई बहिनीहरू महेन्द्र नमुना मावि कक्षा ८ मा पढ्ने विद्यार्थी भएको त्यस विद्यालयका शिक्षक रोम विश्वकर्माले जानकारी दिए । जेठी छोरी विवाहित हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले गए राति नेपाली सेना र प्रहरीको संयुक्त टोलीले शव निकालेर परिवार र छिमेकीहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा सारेको बताए ।

पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शव परीक्षण गर्न तम्घास अस्पताल पठाइएको छ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार