• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

७३ जना यात्रु बचाउने पाइलट शेर्पालाई विमान चलाउन किन लगाइयाे रोक ?


असाेज १४, काठमाडौं ।

बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ ।

७३ जना यात्रु चढेको विमान २ घण्टा आकाशमा फन्को मारेर अवतरण गराएका शेर्पामाथि अनुसन्धान भइरहेकाले विमान चलाउन रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमान दुर्घटना हुनबाट जोगिए पनि के कारणले विमानको पाङ्ग्रा नखुलेको र पाइलटको भूमिकाबारे अनुसन्धान भइरहेको छ।

छानबिन अवधिभर विमान चलाउन रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

नेपालको हवाई क्षेत्रमा विमान र हेलिकप्टरमा समस्या आउन थालेपछि सरकारले छानबिन बढाएको छ। यसका लागि कमिटी नै गठन गरेर काम बढाएको हो।

नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार छानबिन प्रतिवेदनपछि मात्र उनले विमान चलाउन पाउने या नपाउने टुंगो लाग्नेछ। त्यसबीच उनले विमान चलाउन पाउनेछैनन्।

११ असोजमा विराटनगरका लागि उडेको ७३ यात्रुसहितको विमान पाङ्ग्रा नखुल्दा आकाशमै होल्ड भएको थियो। तेल सकिएर विमान अवतरण गर्न खोज्दा अचानक पाङ्ग्रा खुलेको थियो।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार