• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

इन्टरनेटको तार काटिएपछि ऊर्जा मन्त्रालयमा विशेष छलफल : भयाे यस्ताे सहमति


असाेज १७, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले तत्कालका लागि इन्टरनेटको तार नकाट्ने भएको छ ।

आइतबार उर्जा मन्त्रालय, नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र सुचना प्रविधि तथा सञ्चार मन्त्रालयको बैठकमा नेपाल विद्युत प्राधिकरणले तत्काल इन्टरनेट सेवा अवरुद्ध नगर्ने तर कात्तिक मसान्तभित्रै सेवा प्रदायकले पोलको भाडा तिनुपर्ने सहमति भएको सञ्चार मन्त्रालय प्रवक्ता विनोद सिंहले जानकारी दिए ।

समस्या समाधानका लागि सञ्चार मन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । तत्काल ईन्टरनेट सेवा अवरुद्ध नगर्ने तर कात्तिक मसान्तभित्रै सेवा प्रदायकले पोलमा तार टाँगिएको ठाउँ स्वघोषणा गरी पोलको भाडा तिर्ने सहमति भएको सिंहले बताए ।

सेवाप्रदायकले स्वघोषणा गरेको समयभित्रै भाडा तिर्नुपर्नेछ । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संस्थाहरुले तिर्नुपर्ने पोल भाडा नतिरको भन्दै शनिबार सांकेतिक रुपमा भन्दै उपत्यका लगायत विभिन्न जिल्लाहरुमा इन्टरनेटको तार काटेपछि व्यापक विरोध भएको थियो ।

प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनीलाई सम्पर्कमा आएर आफ्ना बक्यौता तिर्न २ महिनादेखि ताकेता गर्दै आएको छ ।

आज (आइतबार) दिउँसो १ बजेदेखि चलेको बैठकमा मन्त्री भुसाल, ऊर्जा मन्त्रालयका सहसचिव, सञ्चार मन्त्रालयका सचिव, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशक मनोज सिलवाल र नेपाल दूरसञ्चार प्राधिकरणका उप निर्देशन अच्युतानन्द मिश्रलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार