• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

जेठानलाई मन्त्री र भिनाजुलाई राजदूत बनाउने प्रधानन्यायाधीश राणाको प्रयास


असाेज १८, काठमाडाैं ।

आफ्नाे काेटाबाट दुई मन्त्री बनाउन लागिपरेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा यतिबेला विवादमा तानिएका छन् । जेठान गजेन्द्र हमाल र सर्वोच्चमा कार्यरत दीपक तिमिल्सिनालाई मन्त्री बनाउन उनले प्रस्ताव गरेका हुन् ।

मन्त्री सँगै उनले राजदूत पनि मागेकाे श्राेतले बताएकाे छ । प्रधानन्यायाधीश राणाले राजदूत बनाउन खोजेका व्यक्ति उनका भिनाजु कृष्ण प्रसाद उप्रेती हुन् ।

धादिङस्थित केपी सिमेन्टका सञ्चालक उप्रेतीलाई राजदूत बनाउन प्रधानन्यायाधीश राणाले पहल गरेका छन् । प्रधानमन्त्री देउवा उप्रेतीलाई कोरियाको राजदूत बनाउन लगभग राजी भएको एक नताले बताए ।

प्रधानन्यायाधीश राणालाई मन्त्रिमण्डलमा दुई मन्त्री दिन लागेको कुरा मिडियामा आएपछि त्यसको व्यापक विरोध भएको छ।

‘प्रधानन्यायाधीशका मानिसलाई दुइटा मन्त्रालय दिनेमा पहिले गठबन्धन दलका सबै प्रमुख नेता राजी थिए। अहिले मिडियामा समाचार आएपछि दलहरूभित्रै त्यसको व्यापक विरोध भएको छ,’ कांग्रेसका एक नेताले भने, ‘गजेन्द्र हमाल कांग्रेसकै पुराना नेता भएकाले हामीले विरोध गर्न मिल्दैन। तर दीपक तिमिल्सिनालाई बनाउन पाइन्न भनेका छौं।’

मन्त्रिमण्डल विस्तार गर्न शीर्ष नेताहरू बिगत केही दिनदेखि प्रयासरत भए पनि टुंगोमा पुग्न सकेका छैनन्।

यसैबीच मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश राणाले आफ्नो भाग खोजेको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन र विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडिएको बताइएको छ ।

सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानत: प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरन्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दु:खद र खेदजन्य अवस्था हो ।’

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार