• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानन्यायाधीशकाे काेटाबाट मन्त्री बन्न लागेका गजेन्द्र हमालले दिए अचम्मकाे प्रतिक्रिया


असाेज २२, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाकाे काेटाबाट मन्त्री बन्न लागेका उनकै जेठान गजेन्द्र हमाल मन्त्रीकाे शपथ खान नेपालगन्जबाट एक साताअघि काठमाडौं आइसकेका छन् ।

लामो प्रतीक्षा र विवादपछि सत्ता गठबन्धन दलहरूले मंगलबार मन्त्रालय बाँडफाँट गरेका हुन् । मन्त्रिपरिषद्मा २५ सम्म सदस्य हुन सक्ने संवैधानिक व्यवस्था भए पनि सरकारसँग २१ मन्त्रालय छन् ।

त्यसैले एक प्रधानमन्त्री र तीन राज्यमन्त्रीबाहेक मन्त्रिपरिषद्मा २१ मन्त्री हुन सक्छन् । यसमध्ये कांग्रेसले ७, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले ४/४ पाउने गरी २० मन्त्रालय भागबन्डा गरिएको छ ।

एउटा मन्त्रालय किन बाँकी राखिएको हो ? गठबन्धनका एक नेताले भने, ‘अहिलेसम्मको तयारीअनुसार शुक्रबार शपथग्रहण हुनेछ, अवस्था परिवर्तन नभएमा त्यहाँ तपाईंले गजेन्द्र हमाललाई पनि देख्नुहुनेछ ।’ हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने तयारी छ ।

के भन्छन् हमाल

मन्त्री बन्ने सम्भावना भएपछि काठमाडौं आएका हमालले आफूलाई मन्त्री बनाउन लागिएको विषय हमालले पनि इन्कार गरेनन् । ‘मिडियामा त खुबै चर्चा भएको छ । मन्त्री बनाइदिए त राम्रै हुने थियो तर आधिकारिक जानकारी नआएसम्म मन्त्री भइहाल्छु भन्न मिलेन,’ उनले भने ।

प्रजातान्त्रिक आन्दोलनमा आफ्नो ठूलो लगानी रहेकाले पार्टीले पनि त्यसको मूल्यांकन गर्ने विश्वास उनले व्यक्त गरे । २०४० सालमा नेपालगन्जको त्रिभुवन चोकमा राजारानीको तस्बिर च्यातेपछि उनी चर्चामा आएका थिए । ‘त्यस बेला मलाई जिउँदै पक्राउ गर्न नसके मारेर बुझाउन प्रशासनले आदेश दिएको थियो,’ उनले भने, ‘त्यसको केही समयपछि म भूमिगत भएको हुँ ।’

कांग्रेस नेता सुशील कोइरालासँग मनमुटाव बढेपछि देउवा पक्षमा लागेका उनी कांग्रेस विभाजनपछि प्रजातान्त्रिक कांग्रेसको बाँके जिल्ला सभापति बनेका थिए ।

उनी २०६४ को संविधानसभा निर्वाचनमा उम्मेदवार थिए, तर माओवादी नेता तिलक परियारसँग पराजित भए । २०१० फागुन ८ मा जन्मेका हमाल अहिले पार्टीको क्रियाशील सदस्य मात्र हुन् किनकि कांग्रेसको अघिल्लो महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिमा नै पराजित भएका थिए ।

उता प्रदेशसभा सदस्य भाइ सुरेन्द्र हमाल पनि कांग्रेसका तर्फबाट लुम्बिनीमा मन्त्री हुने निश्चितजस्तै छ ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार