• २०७८ माघ ८ गते शनिवार
  • Preeti To Unicode

सायद त्याे दिन बुबासँगै मेराेपनि अन्तिम दिन हुन्थ्याे हाेला !


असल क्षेत्री

असल क्षेत्री

हामी सात भाइबैनीमध्ये म सबैको जेठो दाइ । म भर्खरको युवा नै थिएँ । बुबा भन्दै हुनुहुन्थ्यो– मेरो छोरा पढेर ठूलो मान्छे बन्छ । सबैका आमाबुबाको एउटै सोचाइ हुन्छ होला– छोराछोरी हुर्के, बढे र राम्रो जागिर गरे भने आफू बुढो हुँदा सुखले पाल्लान् वा बुढेसकालको सहारा बन्लान् । सायद मेराबारेमा पनि यस्तै सोचेको हुनुपर्छ । सुखदुःख गरेर मलाई हाईस्कुलसम्म पढाउने आँट मेरा बुबाले गर्नुभयो । म उहाँप्रति धेरै आभारी छु ।

मेरो गाउमा म नै पहिलो मान्छे हुँ सबैभन्दा पहिले हाईस्कुलसम्मको पढाइ सकेर क्याम्पस पढ्न जाने । त्यो कुरामा मेरो बुबाको योगदान नै प्रधान भएर आउँछ । क्याम्पस पढ्दै गर्दा जनयुद्ध सुरु भयो । त्यसले हाम्रोजस्तो शोषण र अन्यायमा परेको समाजलाई सर्लप्प लपेट्यो । हामी पनि बाध्यता, रहर वा दायित्वबोधले जनयुद्धमा होमियौँ ।

हुनत हाम्रो परिवार कम्युनिस्ट पार्टीका विभिन्न सङ्गठनहरूमा २०४७ देखि नै सङ्गठित भएको थियो तर २०५२ सालको जनयुद्धले हामीलाई क्रियाशीलता थपेको मात्र हो । राती सङ्गठनका कामहरू गर्ने, दिउँसो सामाजिक कामहरूमा सहभागी हुने हाम्रो दैनिकी बन्दै गएको थियो । अन्याय, अत्याचार, शोषण, दमनका विरुद्ध आवाज उठाउने हाम्रो बुबाको स्वभाव र त्यसको प्रत्यक्ष प्रभावमा रहेका हामी छोराछारी क्रान्तिको आगोभन्दा टाढा रहन वा बस्न सम्भव नै थिएन ।

बुबाको क्रान्तिप्रतिको लगावले हामी सबै छोराछोरीलाई क्रान्तिमा तान्दै लगेको थियो । हामीभित्र पनि क्रान्तिको ज्वाला बिस्तारैबिस्तारै तात्दै र दन्कँदै गैरहेको थियो । विशुद्ध किसानी गरेर जीविकोपार्जन गर्ने मेरो बुबा क्रान्ति र परिवर्तनप्रति पनि त्यत्ति नै प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँका सकारात्मक गुणहरूको चर्चा जति गर्दा पनि कम नै हुन्छ । क्रान्ति एक निर्मम प्रक्रिया हो ।

क्रान्ति वा युद्धमा भावनाले मात्र चल्न कठिन हुन्छ । वैचारिक स्तरमा उठेको भावनाले मात्र क्रान्तिलाई अगाडि बढाउन सक्छ । क्रान्तिको स्तरमा उठेको भावना विचार र राजनीतिक सम्बन्धसहितको पे्रम मेरो बुबासँग रहेको बल्ल अहिले महसुस गरिरहँदा कताकता आफैँलाई न्यास्रो पनि महसुस हुने गर्दछ ।

२०५५ साल कात्तिकसम्म आइपुग्दा जनयुद्धको राप बिस्तारैबिस्तारै बढ्दै गैरहेको थियो । राज्य जनयुद्धप्रति निर्मम बन्दै क्रान्तिकारी जनता र नेता–कार्यकर्ता खोजीखोजी हत्या गर्ने र जनयुद्धको रापलाई निस्तेज गर्ने उद्देश्यसहित जनयुद्धका विरुद्ध लागिरहेको थियो ।

किलो सेरा टु अभियान नै सञ्चालन गरी हत्या र आतङ्कले जनताको अधिकारको आन्दोलनलाई निर्मम दमनद्वारा सिध्याउने अभियानमा राज्य थियो । माओवादी पार्टी साना–ठूला प्रतिरोध युद्धद्वारा राज्यमाथि धावा बोलिरहेको अवस्था थियो ।

बुबाको हत्या प्रसङ्ग

२०५५ साल कात्तिक २९ गते दिउँसो पार्टीको देउसीभैलोको समीक्षा र सल्यान जिल्लाका पुराना, क्षमतावान्, प्रभावशाली नेता क. सन्देश (जसले रुकुमको चुनबाङमा सहादत प्राप्त गर्नुभयो) को श्रद्धाञ्जली कार्यक्रममा थियौँ । गाउँका केही क्रान्तिकारी युवाहरूसहित हामी उक्त कार्यक्रममा सहभागी भएका थियौँ । उक्त कार्यक्रम तत्कालीन ढाकाडाम गाविसको ४ नम्बर वडामा सम्पन्न भएको थियो ।

कार्यक्रम सकिँदै गर्दा एकजना अग्रज नेता आएर मेरो बढुवा र सरुवाको कुरा सुनाएर जानुभयो । मभित्र केही उद्वेलनासहित नयाँ जोस पनि पैदा भयो । तर अपरिचित भूगोलमा भएको सरुवाले केही आशङ्का पनि पैदा भयो । ती सबै कुराहरूलाई समाल्दै घरमा पुगेर बुबालाई सबै कुराको जानकारी दिने र भोलिपल्ट मात्र सरुवा भएको भूगोलमा जाने निधोसहित म घरतिर गएँ ।

म बुबाको धेरै आदर गर्थें । सामाजिक रूपमा पनि बुबा एक प्रतिष्ठित र इमानदार व्यक्तिमा गनिनुहुन्थ्यो । विद्रोही स्वभावको हुनुको कारण होला उहाँलाई विरोधीहरूले तारो बनाएका थिए । क्रान्तिकारी राजनीतिमा लागेकाले काङ्ग्रेसहरूले अलि बढी डाहाको दृष्टिले हेर्ने गरेका थिए ।

राजनीतिमा एकले अर्कालाई देखिनसहने प्रवृत्ति अहिले पनि छ भने त्यो बेला कति थियो होला । भर्खर जनयुद्ध सुरु भएको, राज्य पनि लागेपुगेसम्मको बल लगाएर जनयुद्धका विरुद्ध खनिएकै थियो । काङ्ग्रेसीहरू गाउँगाउँबाट भागदौड र सीआईडी–सुराकीमा आफ्नो राजनीति र व्यक्तिगत जीवन सुरक्षा खोजिरहेका थिए ।

क्रान्तिले पनि त्यति ठूलो गति लिन सकेको थिएन । राज्य काङ्ग्रेसको सहयोगमा व्यक्तिहत्यामा उत्रिएको थियो । त्यसरी नै घेरा हालेर क. सन्देशलाइ रुकुमको चुनबाङमा हत्या गरिएको थियो । क. सन्देश सल्यानका सबैभन्दा पुराना र क्षमतावान् नेता हुनुहुन्थ्यो । उहाँको सहादतले क्रान्तिमा ठूलो क्षति भएको थियो । लाग्छ, सायद सल्यानमा क. सन्देश बचेको भए नेतृत्वको खडेरी पर्दैनथ्यो होला ।

यही भावनामा भावुक र क्रान्तिप्रतिको अठोट लिएर बुबासँग आशीर्वाद लिन म घरमा जाने र सपरिवारमा क. सन्देश सहिद भएको दुःखद् कुरा र मेरो बढुवा र सरुवा भएको कुरा सुनाउने, केही सरसल्लाहसहित कार्यक्षेत्रमा जाने सोचाइ बनाएको थिएँ । बुबाको आशीर्वादसहित कार्यक्षेत्रमा जाँदा छुट्टै उत्साह, उमङ्ग, जोस र जाँगर आउँथ्यो । त्यो जोस र जाँगरलाई क्रान्तिको ऊर्जामा बदल्न सकिन्थ्यो होला । क्रान्तिमा होस् वा नेतृत्व विकासमा होस्, परिवारको महत्वपूर्ण योगदान रहने गर्दछ । मेरो पे्ररणाको स्रोत मेरो बुबा नै हो ।

२०५५ साल कात्तिक २९ गते अर्थात् २३ वर्षपहिले आजकै दिन मेरो कलिलो भावना र मानसपटलमा अविस्मरणीय क्षण बन्न पुगेको दिन हो । जीवनमा चाहेर पनि मैले त्यो दिन बिर्सन सक्दिनँ । हुनत हामी क्रान्तिकारीहरूको जीवनमा ठूलाठूला विपत्ति र सङ्कटका दिनहरू पनि आउने गर्छन्, आउँछन् । त्यस्ता क्षण बेहोरिए । अझै पनि बेहोर्न तयार रहेको कुरा छँदैछ तर कुनैकुनै घटनाहरू जीवनका अभिन्न क्षणहरू बनेर बसिरहन्छन् ।

मेरो जीवनमा पनि त्यो दिन त्यसरी नै चट्टानसरि मेरो दिमागमा रहेको छ । जुन दिन मेरो बुबाको जीवनको अन्तिम दिन बन्यो भने मेरो सम्पूर्ण परिवार र समाजको खुसी लुटियो । साँझ बुबासँग बसेर गरेका क्रान्ति, परिवार र समाजबारेका छलफलहरू अहिले पनि ताजै लाग्ने गरेका छन् । मलाई बुबाको अन्तिम निर्देशन थियो– क्रान्ति (जनयुद्ध) मा कहिल्यै पनि धोका नदिनू, चाहे तिम्रो भागमा बलिदान नै किन नपरोस् ।

गाउँको सामान्य नागरिक भएर पनि क्रान्ति र परिवर्तनप्रतिको लगाव र कठोर प्रतिबद्धता देख्दा कहिलेकहीँ पीडा र उत्साह दुवै लाग्ने गर्छ । भैँसीको मही मथ्दै मलाई लामालामा कहानी सुनाएको कसरी भुल्न सक्छु र !? मेरो कलिलो दिमागले नबिर्सने गरी स्वीकार गर्यो र चट्टानसरि नबिर्सने स्थानमा सञ्चित गरेर राखेको छ ।

मलाई दुःख किन लाग्छ भने मेरो बुबाको भौतिक शरीर हुनु वा नहुनुमा दुःख हैन, बरु क्रान्तिमा रगत बगाउन पे्ररित गर्ने नेताहरू प्रतिक्रियावादी क्याम्पमा मिसिन पुगे र क्रान्तिलाई धारे हात लगाउँछन्, त्यसमा दुःख लाग्ने गर्दछ । खुसी यो मानेमा लाग्छ– मैले बुबाको सपना पूरा गर्ने कसम खाएको छु र निरन्तर क्रान्तिको मोर्चामा डटिरहेको छु । कात्तिक २९ गते राती ११ बजे स्थानीय काङ्ग्रेसीहरूको सुराकीमा ५४ वर्षकै उमेरमा बुबाको हत्या गरियो । हत्या आफैँमा भयानक कुरा हो ।

कथित सुरक्षाफौज भनिने राज्यको आपराधिक जत्थाले छाती, हात र खुट्टामा तीन गोली हानेर परिवारैअगाडि घरको ढोकामा लडाइयो । म पनि दुई गोली लागेर मुस्किलले बच्न सफल भएँ । अन्यथा बुबासँगै मेरो जीवनको पनि त्यो दिन अन्तिम दिन बन्ने थियो । म बाँचेर राम्रो गरेँ वा नराम्रो, म आफैँ भन्न सक्दिनँ किनकि आज सहिद हुनेहरूका सपना असरल्ल र छरपस्ट छन् । नेताहरू सहिदका सपनाहरू छाडेर आलिसान महलमा बास बस्छन् । क्रान्तिमा धोका भएको छ ।

हिजो सहिद हुनेका परिवार अपमानित छन्, पीडित छन् । न सहिदको रगतको मूल्यबोध छ, न त क्रान्तिलाई निरन्तर विजयको दिशामा अगाडि बढाइएको छ । यसो हुँदा म सहिदको छोरा, परिवार वा आफन्त भन्न पनि हिच्किचाउनुपर्ने स्थिति उत्पन्न भएको छ । सायद सबै सहिदका सन्तानलाई यस्तै महसुस भएको हुनुपर्छ । सहिदको रगतको बखान गरेर राजनीति गर्न जति सजिलो छ, सहिद परिवार बनेर म सहिदको सन्तति हुँ भन्न त्यति सजिलो छैन । त्यो कुरा सहिदका परिवारलाई मात्र थाहा छ ।

पराजय भोगेको क्रान्तिको सहिदजस्तो भएको छ । बरु हिजोका क्रान्तिविरोधीहरू सलबलाएका छन् र माओवादी पार्टीहरूभित्र पनि जनयुद्धको स्कुल भत्काउनुपर्छ र लुटको स्कुल स्थापना गर्नुपर्छ भन्नेजस्ता जनयुद्ध र क्रान्तिविरोधीहरूका तर्कहरू हाबी हुँदै गएका छन् । जनयुद्धको मूल नेतृत्व नै क्रान्तिलाई लत्याएर भागेपछिको पीडा यही हुन्थ्यो होला सायद ! अहिले हामीले जीवनमा यही बेहोरिरहेका छौँ ।

जनयुद्ध एक महान् क्रान्ति थियो । जनयुद्धले समाजमा धेरै परिवर्तनको रेखाकोरेको छ । बोल्न नसक्ने र नजान्ने मान्छेहरू बोल्न सकेका छन्, बोल्न जानेका छन् । सामाजिक रूपमा ठूलो र महत्वपूर्ण पहिचान जनयुद्धको छ । सामाजिक रूपमा उत्पीडनमा परेको शक्तिलाई अधिकारको कुरा सिकाएको छ र अहिले चलिरहेको गणतन्त्रात्मक नाम दिइएको सत्ता दलालै भए पनि जनयुद्धको जगमा स्थापना भएको हो ।

यो सत्तामा जोसुकै पुगे पनि जनयुद्धका सहिदहरूले रङ्गिएको सत्ता हो । नेतृत्वले धोका नदिएको भए आज क्रान्तिकारी सहिद परिवार र आमनागरिकको जीवन अर्को स्थानमा पुग्थ्यो । जनयुद्धमा पवित्र मन, वचन र कर्मले बलिदान भएको हो, कुनै स्वार्थ थिएन । बलिदान भएकोमा परिवारको कुनै गुनासो पनि थिएन । मेरो आफन्त गुमेर के भयो त, अन्ततः त्यसको जगमा श्रमिक जनताको सत्ता प्राप्त हुनेछ भन्ने थियो । जनयुद्धका उपलब्धिहरूको भोग गर्नेहरूले जनयुद्धका सहिदको सम्मान गर्न जरुरी अनिवार्य छ । निःस्वार्थ भावले बलिदान गर्ने सहिदहरूको अपमान राज्य होस् वा पार्टीनेता कसैले गर्न पाइँदैन ।

आज चलिरहेको एकीकृत जनक्रान्ति पनि जनयुद्धकै अर्को विकसित रूप हो । जनयुद्ध र एकीकृत जनक्रान्तिलाई विभक्त गरेर बुझ्नु हुँदैन । जनयुद्ध र जनयुद्धमा भएको बलिदानलाई सही ढङ्गले बुझ्न सकिएन भने आज चलिरहेको एकीकृत जनक्रान्तिलाई पनि बुझ्न सकिँदैन । एकीकृत जनक्रान्तिलाई नबुझेर हावामा क्रान्तिका गफ मात्र फलाकेर क्रान्ति सम्पन्न हुने कुरा हैन । क्रान्तिमा बलिदान हुन्छ । बलिदानले क्रान्तिमा ऊर्जा थपिन्छ । त्यही ऊर्जाको आडमा क्रान्ति अगाडि बढ्छ ।

त्यही अगाडि बढेको क्रान्ति वा क्रान्तिकारी आन्दोलनले मात्र सहिदको सपना पूरा गर्न सक्छ । आज सहिदको सपना र क्रान्तिको झन्डा बोकेको पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र हो भन्ने कुरा घामझैँ छर्लङ्ग भएको छ । सहिदको रगत भँजाएर संशोधनवादी, दलाल पुँजीवादी राजनीति गर्ने छूट कसैलाई पनि छैन । सहिदहरूको सपना क्रान्तिलाई पूरा गरी नेपाली श्रमिक वर्गको सत्ता वैज्ञानिक समाजवाद ल्याएर मात्र सम्भव छ ।

सहिद बुबाको २३ औँ स्मृति दिवस परेको आजको दिनलाई सम्झिँदा पीडा र दायित्वबोधले मलाई बाँध्ने गरेको छ । हेर्न त बाँकी नै छ मैले कसरी यो पीडालाई क्रान्तिमा व्यक्त गर्न सक्छु, नयाँ दायित्वबोधसहित कसरी क्रान्तिमा आफ्नो भूमिकालाई अझ बलियो बनाउन सक्छु ! मलाई जहाँसम्म लाग्छ क्रान्तिको मोर्चामा सधैँ बुबालाई सम्झिने गरेको छु र क्रान्तिको महाअभियानमा निरन्तर आफ्नो गतिमा कमी आउन दिएको छैन ।

क्रान्तिको मोर्चा जितेर मात्र मेरो बुबालगायत समग्र सहिदको सपना पूरा हुनेछ । क्रान्तिको मोर्चा छोडेर भाग्ने, धोका दिने र गद्दारी गर्ने छूट कसैलाई छैन । बाँच्नु मात्र सबै कुरा हैन । बाँचेकाहरूले मरेकाबाट केही सिकेका छैनन् र अगाडि बढ्ने सोच्दैनन् भने त्यो पनि एक प्रकारको मृत्युसरह नै हो । २३ औँ स्मृति दिवसका अवसरमा मेरो बुबा सहिद माधु खड्काप्रति हार्दिक श्रद्धासुमन ! मेरी आमालगायत सबै मेरो परिवारमा एकीकृत जनक्रान्तिको मोर्चावाट मीठो सम्झना अनि माया साथै लालसलाम !

लेखकः  नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन् । उनकाे घर सल्यान जिल्लाकाे दार्मा गाउँपालिका पर्छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार