• २०७९ भाद्र २ गते बिहिवार
  • Preeti To Unicode

एमाले महाधिवेशनमा यसरी गरिएकाे छ सुरक्षा व्यवस्थापन


मंसिर १०, चितवन ।

एमाले महाधिवेशन स्थल वरपर करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

जिल्ला सुरक्षा समितिका अनुसार चितवनतर्फ एक हजार पाँच सय र नवलपरासीतर्फ एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनेछन् । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन आएका छन् ।

पहिलो दिन महाधिवेशन स्थलमा र दोस्रो दिनबाट बन्दसत्र सञ्चालन हुने सौराहालाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मिलाएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख उपरीक्षक ओम अधिकारीले बताए ।

उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । उनका अनुसार पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ ।

एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारीसाधन व्यवस्थापन गरेर सञ्चालन गर्ने वातावरण मिलाएकाे उनले बताए । भीआईपी बसेको होटलदेखि कार्यक्रम स्थलसम्म ल्याउने, पुर्‍याउने रुट निर्धारण भइसकेको उनले बताए ।

महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका पाँच हजार स्वयंसेवक खटिने एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । उनकाअनुसार बन्दसत्रमा तीन सय स्वयंसेवक परिचालन हुनेछन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार