• २०७९ असार २३ गते बिहिवार
  • Preeti To Unicode

भोलिदेखि देशभरका विद्यालय बन्द, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने


पुस २७, काठमाडाैं ।

सरकारले भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसका संक्रमित बढेकोले देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना निकालेर पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको हो।

बिदाको उक्त समयमा १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत् खोप लगाउने कार्यक्रम छ।

साथै विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूले पूर्वनिर्धारित परीक्षा भने जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जेड आएकारमा बसाई व्यवस्था मिलाई सञ्चालन गर्न सकिने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

यसैबीच कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने,’ गृह मन्त्रालयको निर्णयमा भनिएको छ,’जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्नसमेत सक्ने ।’

गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन पनि दिएको छ । कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आइतबार उक्त निर्णय गरी कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

त्यस्तै, सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गर्न पनि निर्देशन गृह मन्त्रालयले दिएको छ ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार