• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

पृथ्वीनारायण शाहले सल्यान राज्यसँग जाेडेकाे सम्बन्ध रणबहादुरकाे हत्या पछि किन बिग्रियाे ?


खकेन्द्र केसी

पुस २७, सल्यान ।

आज पुस २७ अर्थात नेपाल एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मयन्ती । आजकै दिन राष्ट्रिय एकता दिवस पनि मनाइने गरिन्छ । वि.सं. १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो ।

पृथ्वीनारायण शाहसँग सल्यान जिल्लाको पनि साइनो जोडिएको थियो । पृथ्वीनारायण शाहले आफ्नी छोरी बिलासकुमारीको बिहे तत्कालिन सल्यान राज्यका राजा कृष्ण शाहका छोरा रणभिम शाहसँग वि.सं. १८२३ मा गरिदिएका थिए ।

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्न प्रेरित गर्ने योगी भगवंत नाथ सल्यान राणागाउँमा बस्थे । पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्न सजिलो होस् भनेर पश्चिमी क्षेत्र पकड जमाउन तिनै भगवंत नाथको भुमिकामा पृथ्वीनारायण शाहकी छोरी र सल्यानी राजाका छोराको बिहे भएको थियो ।

त्यतिबेला पृथ्वीनारायण शाह गोर्खा राज्यका राजा थिए । गोर्खाली राजा पृथ्वीनारायण शाहले सल्यानी राजाका छोरासँग छोरीको बिहे गरिदिनु पछाडीका धेरै कारण छन् । पश्चिममा बलियो पकड जमाएकोे विशाल र शक्तिशाली तत्कालीन फालावाङ्गी राज्य (सल्यान राज्य) थियो ।

पश्चिम क्षेत्रका राज्य कब्जा गर्नलाइ पृथ्वीनारायण शाहले सल्यानसँग साइनो जोडेको देखिन्छ । बिहे भएको दुइ वर्ष पछि १८२५ तिर सल्यानी राजा कृष्ण शाहले एकअर्काको कुभलो नचिताउने भन्दै भगवंत नाथ मार्फत पृथ्वीनाराण शाहलाई एउटा धर्मपत्र पठाएका थिए ।

सुरुमा सल्यान राज्यभित्र पुर्वमा फालाबाङ, पश्चिममा भैरवी, उत्तरमा चिप्लया झिङसानीको लेक पानी ढलो र दक्षिणमा भारतको मुगलानसम्म थियो । पछि बिलासकुमारीको आग्रहमा पृथ्वीनारायण शाहले सल्यान राज्यमा पुर्वमा माडी खोलादेखि देउखुरी हुँदै दक्षिणमा भारतको बलरामपुर र पश्चिम तथा उत्तरमा सल्यान थपिदिएका थिए ।

पृथ्वीनारायण शाहको मृत्यु वि.सं. १८३१ माघ १ गतेका दिन ५२ वर्षको उमेरमा भएपनि नेपाल एकीकरणको अभियान चलिरहेको थियो । १८५० सालमा सल्यानी राजा कृष्ण शाहले आफ्ना छोरा बिलासकुमारीका श्रीमान रणभीमलाइ राजगद्दीमा राखि आफु काँशी व्रत गएका थिए ।

१८६३ बैशाखमा तत्कालिन राजा पृथ्वीनारायण शाहका नानी रणबहादुर शाहको आफ्नै सहोदर भाइ शेरबहादुर शाहल खुकुरीले हानेर हत्या गरे । रणबहादुरको हत्यापछि नेपालमा प्रधानमन्त्री सरहको मुख्तियार भीमसेन थापा बने ।

रणबहादुरको मृत्युबारे बुझ्न बिलासकुमारी सल्यानबाट काठमाडौं गइन् । काठमाडौं पुग्दा उनले रणबहादुरको हत्या भीमसेन थापाले गरेको भन्ने कुरा बाहिर गाइगुइ सुनिन् । नेपालको संक्षिप्त वृतान्त नामक पुस्तकमा बाबुराम आचार्यले लेखेको लेखअनुसार काठमाडौं पुगेकी बिलासकुमारीले आफ्नो बारेमा गरेको गाइगुइकाे कुरा भीमसेन थापाले सुने । उक्त सुन्न वित्तिकै भीमसेन थापाले सिपाइहरुलाई लगाएर सालको १४ सय रुपैयाँको भरपाई बनाएर बिलासकुमारीलाई सल्यान फिर्ता पठाएका थिए ।

पछि पाल्पाली राजाका भारदार जगदेउ भण्डारीमार्फत नेपाल सरकारबाट सल्यानी राजालाइ सत्ता च्युत गरेर सल्यानी राजा रणभीम, रानी बिलासकुमारी लगाएत उनका छोराछोरीलाइ काठमाडौं झिकाउन पत्र काटिएको फ्रान्सिस ह्यामिल्टनले सन १९७१ मा रिप्रिण्ट नामक पुस्तकमा लेखेका छन् ।

त्यसपछि १८६६ बैशाख १० गते पाल्पाली राजाका भारदार जगदेउ भण्डारीले सल्यानी राजा रणभीमको सत्ता च्युत गरि सिपाइहरु लगाएर उनिहरुलाइ काठमाडौं पठाएर केहि दिन आफुले प्रशासनको काम सम्हालेका थिए । त्यसपछि सुब्बा रुद्रबिर शाहले सल्यानी राज्यको प्रशासनीक कार्य सम्हालेका थिए । बिलासकुमारी र उनका छोराहरूलाई काठमाडौंमा थोरै बिर्ता जग्गा दिएर राखियो ।

१८ वर्षपछि वि.सं. १८८४ मा सल्यानी राज्यमा तेजबहादुर शाह देखा परे । तेजबहादुर शाहको हुन् भन्ने एकीन नभएपनि उनि रणभीमका भतिजा वा नातेदार हुन भनेर वि.सं. २०४२ सालमा त्रिरत्न मानन्धरले लेखेको एउटा हस्तलिखित पानामा भेटिएको छ ।

१८९४ मा भीमसेनको निधन भएपछि भने तेज बहादुर शाहलाइ फेरि नेपाल सकारबाट सल्यानी राजाको रुपमा उपाधि दिएको देखिन्छ । तर उनलाइ फालाबाङ्गी राजा मात्रै बनाइएको थियो । त्यसअघिका फालाबाङ्गी राज्यले चलाउन दाङ–देउखुरी लगाएतका क्षेत्रहरुको भने उनलाइ अधिकार दिइएन् ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार