पुस २८, सल्यान ।
आलु राेप्ने सिजन सुरु हुन लाग्दा सल्यान र राेल्पामा रासायीनिक मलकाे अभाव देखिएकाे छ ।
खेतीकाे लागि प्रख्यात मानिने सल्यानकाे बागचौर नगपालिकाकाे वडा नम्बर ९, ११, १२, छत्रेश्वरी गाउँपालिकाकाे वडा नम्बर १, २ तथा राेल्पा गंगादेव गाउँपालिकाकाे वडा नम्बर ३ का किसानहरुले अझैसम्म रासायीनिक मल पाउन सकेका छैनन् ।
आलु लगाउनलाई रासायनिक मल युरिया, डियपी र पोटास आवश्यक पर्ने भएको हुँदा कृषकहरुले नेपाल सरकारको अनुदानमा पाउँने रासायनिक मल अझै आफुहरुले पाउन नसकेको बाफुखाेलाका किसान खिम बहादुर वलीले बताए ।
उनले भने, “नेपाल सरकारको अनुदानमा सहकारी मार्फत आउने अनुदानकाे मल आएकाे छैन् । नीजिमा पनि पाइएकाे छैन् ।” सहकारीमार्फत आउने मलभन्दा निजिमार्फत आउने मल धेरै महंगाे हुने गरेकाे समेत उनले बताए ।
रोल्पा गंगादेब गाउँपालिका ३ कुकुरगारेका नरबहादुर खत्री आलु लगाउन रासायिनीक मलको खोजिमा दाङकाे तुलसीपुर र घाेराहीमा जाँदा समेत नपाएकाे बताए । उनले भने, “सबै पसलतिर पुगे कतै पाइएन् ।”
गंगादेब ३ नाउलीका हरि डिसिले पनि यता मल नपाउँदा दाङ बंबई गाउपालिकामा आफन्तहरुकोमा गएर ३ बोरा मल सापटी ल्याएकाे बताए ।
कृषि सामाग्री लिमिटेड र साल्ट ट्रेडिङकाे गाेदाममा पनि मल स्टक नभएकाे सहकारी संथामा आवद्ध किसानहरु बताउँछन् । याे क्षेत्रका किसानहरुले जिविकोपार्जनको लागि आलु खेतिलाइ प्रमुख खेतीकाे रुपमा बनाउने गरेका छन् ।