मृत्यु भएकाहरुकाे किर्ते कागज बनाएर वृद्धाभत्ता खाएकाे भन्दै वडाध्यक्ष र सचिवलाई कालाेमाेसाे


माघ १०, बझाङ ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकटकाे विद्यार्थी संगठनले बझाङमा वडाध्यक्ष र वडा सचिवलाई कालाेमाेसाे दलेकाे छ ।

विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति बझाङले जिल्लाको वित्थडचिर गाउँपालिका वडा ८ का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई लाखौँ रकम भ्रष्टाचार र अनियमितता गरेको आरोप लगाउँदै कालाेमाेसाे दलेकाे हाे ।

आइतबार साे संगठनका जिल्ला इन्चार्ज शंकर खाती र अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गर्दै कारवाही गर्नका कारण उल्लेख गर्दै कालाेमाेसाे दलेकाे जिम्म लिएका हुन् ।

वडाध्यक्ष र सचिवले मृत्यु भएका नागरिकको मृत्यु दर्ता नगरि चार बर्षसम्म वृद्धाभत्ताकाे लाखौँ पैसा किर्ते कागज मिलाएर खाएकाे उक्त संगठनकाे आरोप छ ।

त्यस्तै १ करोड ५० लाखको खानेपानी योजनामा धारा निर्माण नगरेकाे र काम गर्ने मजदुरलाई ज्याला नदिई बजेट पास गरेको पनि आरोप लगाइएकाे छ । वडा कार्यालयको सवारीसाधनमा नम्बर प्लेट परिवर्तन गरेर दुरुपयाेग गरेकाे लगाएतका आरोप उक्त संगठनले लगाएकाे छ ।

यता वडाध्यक्ष मल्लले भने आफूसँग चन्दा मागेकाे र भनेजतिकाे चन्दा दिन नसकेपछि आफू लगायत अन्य कर्मचारीमाथि कुटपिट गरिएकाे बताए । ‘१५-२० जनाको टोली आएर हामी विप्लवका कार्यकर्ता हौँ हामीलाई १ लाख ५० हजार जति चन्दा दिनुहोस भने । हामीले त्यत्रो पैसा कहाँबाट दिन सक्छौँ भन्यौँ,’ अध्यक्ष मल्लले भने, ‘त्यसपछि उनीहरुले हामीमाथि हातपात गरे ।”

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार