• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

दाङ जिल्लाकाे उत्पत्ती र नामाकरण कसरी भयाे ?


माघ ११, दाङ ।

दाङ जिल्ला नेपालको राजधानी काठमाडौ देखी सडकमार्गबाट करिब ४२५ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित छ । तथापी दाङ र काडमाडौंको हवाई दुरी भने करिव २८० किलोमिटर पश्चिम दक्षिण मात्र रहेको छ ।

यो जिल्ला राप्ती अंचलको सवैभन्दा महत्वपुर्ण आर्थिक सम्भावना, सामाजिक स्थिति एवं ऐतिहसिक तथा सांस्कृतिक दृष्टिकोणले नेपालकै प्रमुख जिल्लाहरु मध्ये एक जिल्ला हो । यस जिल्लाको क्षेत्रफल २,९५५ वर्ग कि.मि. छ ।

यस जिल्लाको दक्षिणी सिमानामा भारतको उत्तर प्रदेश पर्दछ भने उत्तरमा सल्यान र रोल्पा जिल्ला पर्दछन् । त्यसै गरी पूर्वी सिमानमा प्यूठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला पर्दछन् भने पश्चिममा सल्यान तथा बाँके जिल्ला पर्दछन् ।

भौगोलिक रुपमा यस जिल्लामा भित्री मधेसका समथर फाँटहरु, यी फाँटहरुलाई चारैतिर वाट घेर्ने साना तथा मध्यम पहाडहरु समेत वाट निर्मित दुई उपत्यकाहरु र पहाडी धरातल (महाभारत तथा चुरे) समेत रहेका छन् । यी उपत्यकाहरु मध्ये उत्तरी अर्थात मथिल्लो उपत्यका ‘दाङ’ र दक्षिणी अर्थात तल्लो उपत्यका ‘देउखुरी’ को नामवाट परिचित छन् ।

यी दुवै उपत्यकाहरु पुर्व–पश्चिम भै फैलिएर रहेका छन्। दाङ उपत्यका नेपालकै सर्वाधिक ठुलो उपत्यकाको रुपमा मात्र परिचित मात्र नभै एसियाकै ठूला उपत्यकाहरु मध्ये एक मानिन्छ । दाङ उपत्यका महाभारत र चुरे पहाडको विचमा अवस्थित छ भने देउखुरी उपत्यका चुरे पहाड र डडुवा डाँडाका श्रृंखला विचमा रहेको छ ।

यस जिल्लाको दक्षिण–पुर्वी भेकमा पर्ने राप्ती गाउँपालिकाको भानपुर जिल्लाकै सवैभन्दा न्यूनतम उचाई विन्दु (समुद्र सतह वाट २१३ मीटर) रहेको क्षेत्र मानिएको छ भने जिल्लाको पुर्वी सिमानामा पर्ने दुर्गम पहाडी बङ्गलाचुली गाउँपालिकाको अर्खले जिल्लाको अधिकतम उच्च विन्दु (समुद्र सतह वाट २०५८ मीटर) रहेको स्थान मानिएको छ ।

नामाकरण

दाङ जिल्ला भनेर चिनिने यस क्षेत्रले दाङ र देउखुरी नामक दुईवटा उपत्यकाहरुका साथै यी उपत्यकाका वरिपरि रहेका पहाडी क्षेत्रका र तिनीहरुको पानी ढलीलाई बुझाउदछ ।

पहाडहरुका वीचमा रहेको मैदानी भू–भागलाई बुझाउने संस्कृतको ‘द्रोण’ शब्दबाट ‘दाङ’ शव्दको उत्पत्ति भएको र पहिलो बस्ती ‘देवपुर’ शव्दबाट ‘देवपुरी’ शब्द उत्पत्ति भएको र सो शब्द अपभ्रशं भै ‘देउखुरी’ शब्द बनेको मानिन्छ ।

ऐतिहासिक पृष्ठभूमि

पश्चिम–दक्षिणबाट यहाँ आइ पहिले बस्ने जाति थारु हुन्। ती पछि बाहुन र अनि पछि अरु जातिका पहाडबाट यहाँ आई बसेको बुझिन्छ। २०१४ सालसम्म यहाँ बढी संख्या थारुको, दोस्रो बाहुनको र अनि अरु जातको थियो। नयाँ जमिन आवाद गर्न पाइने व्यवस्थाले बढी संख्यामा थारुहरू नयाँ मुलुकतर्फ सर्न लागे। बिर्ता उन्मुलन तथा भूमिसुधार थोरै समयका अन्तरालमा भएको हुनाले थारुहरूले बाहुनलाई धमाधम जमिन बेच्न लागे। त्यसैबेला दाङबाट औलो उन्मूलन गरियो। औलोको डर रहेकोले थारुले छाडेको जमीनमा पहाडबाट मानिसको ओइरो लाग्यो। फलस्वरूप थारुहरूको संख्या घट्दै गयो ।

अघिदेखि दाङको उत्तरी काँठ पहाडी राजाहरूका अधिनमा र दक्षिणको मैदान भाग थारु राजाका अधिनमा थियो। बिक्रमको चौधौँ शताब्दीको आखिरतिर यो जुम्लाको अधिनमा थियो। वि.सं.१४८० तिर सवारी कोटका राजा रतन पाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भए।

केही समयपछि उनले बझाङबाट राजकुमार झिकाई आफ्ना ठाँउमा राजा बनाएर आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागे। रतननाथले छाड्दा दाङ राज्यको विसतार शिवराज इलाकाको अर्रासोता देखि पश्चिम राप्तीसम्मको तुलसिपुर भनिने इलाकामा पनि थियो। नेपालको एकिकरणका बेला सम्वत् १८४३ मा दाङका राजा नवल सिंहले तापाका लडाईमा विरगति प्राप्त गरे।

पछि उनका राजकुमार दिलेर सिंहले पूरा दाङ देउखुरीको रक्षा गर्न सकेनन्। आफ्नो आधा राज्य तल्सीपुरको तराई मात्र बचाई त्यहीका मात्र राजा भै बसे। गोर्खालीले जितेको दाङको देउखुरी पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए। वि. सं. १८६५ मा सल्यानको राज्य नेपालमा मिल्दा दाङ देउखुरी पनि नेपालमा मिल्यो। वि.सं. १८९४ सालमा दरबारका कुनै कुमारीको विवाह गरिदिंदा सल्यानी राजा बंशज तेजबहादुर शाहलाई राजा पद र पश्चिमी दाङ फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ देउखुरी खण्डीत भयो।

नेपाल एकिकरण पश्चात् दाङ देउखुरी सल्यान गौंडाका मातहतमा थियो। वि.सं. १९३८ सालमा दाङको मैदानी भागलाई तौलिहवा गोश्वाराका, १९९६ सालमा भैरहवा गोश्वाराका २००३ सालमा नेपालगञ्ज गोश्वाराका मातहतमा गराइएको थियो। २००७ सालसम्म यहाँ माल, अदालत, हुलाक, इन्सपेक्टर अफिस मात्र थिए। २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानियो र यहाँ वडा हाकिम रहन थाले। २०१७ सालमा राप्ती अञ्चलको सदरमुकाम दाङ देउखुरी मानिए पछि यहाँ अञ्चलाधिस रहन थाले।

फलावाङ राज्य वि.स. २०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र अघिदेखि सल्यानतर्फ रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङ देउखुरीमा मिलेपछि दाङ देउखुरी आजको अवस्थामा आयो।

धार्मिक तथा पर्यटकीय क्षेत्र

भित्री मधेशमा पर्ने यो उपत्यका उत्तरमा महाभारत र दक्षिणमा चुरे पहाडले घेरिएको छ । दाङ दक्षिण एसियाकै ठूलो उपत्यका हो ।

एसियाकै अग्लो त्रिशूल भएको धारापानीमा रहेको पाण्डवेश्वर महादेवको मन्दिर, एसियाकै ठूलो उपत्यका, राप्ती शान्ति उद्यान, बुद्ध चमेरे गुफा, चौघेरा रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, धारपानी मन्दिर, बराह मन्दिर, गढीटाकुरा मन्दिर, कालिका-मालिका, सुदय रामेश्वर मन्दिर, बगारबाबा मन्दिर, रिहार, देवीकोट मन्दिर,मन्थोर्या मन्दिर. ३० मिटर उचाईबाट झर्ने पुरन्धारा झरणा यहाँका आकर्षक स्थानहरु हुन् ।

त्यस्तै बाह्रकुने दह, चरिङ्गे दह, ज्यामिरे ताल, तत्त्व कुण्ड, भोटे दह, जखेरा ताल पनि यहाँका आकर्षण हुन् । राप्ती नदि, बबई नदि, ग्वार खोला दाङ जिल्लाका प्रमुख नदिहरु हुन् ।

श्राेतहरुः विकिपिडिया, जिल्ला समन्वय समिति दाङ लगायत

प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार