माघ १४, चितवन ।
गएको माघ ९ गते भरतपुरको गोन्द्राङमा निर्माणाधीन सडकको नालीमा परेर गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
उनीविरुद्ध बिहीबार नै पक्राउ पूर्जी जारी गरिएको भए पनि हालसम्म पक्राउ परेका छैनन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर काम अगाडि बढाएसँगै ठेकेदार कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पूर्जी जारी गरिएको बताए ।
खड्काले नारायणगढ गोन्द्राङ लेनको सडक विस्तार र भरतपुरमा सिटी हल बनाइरहेका छन् । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।
डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । सडकले वन्यजन्तु करिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानून अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाएको छ ।
निर्माण व्यवसायी महासंघद्वारा आपत्ति
यसैबीच ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गरेकामा निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा प्राकृतिक घटनालाई तोडमोड गरी निर्माण व्यवसायीलाई लान्छना लगाइएको उल्लेख गरिएको छ ।
‘उक्त निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानून विपरीत हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख हैरानी दिने कार्यबाट विभिन्न बाधा अड्चनका बाबजुद भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीहरूको मनोबल गिराउने काम भएको महासंघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।
निर्माण स्थलमा कङ्क्रिटको नाली बनाइसकेपछि पूर्णरूपमा सेट हुनका लागि प्राविधिक रुपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकोले नाली नपुरिएको महासंघले उल्लेख गरेको छ ।