माघ २४, पोखरा ।
अग्लो सिमलको रूखमा गुँड बनाएर ओथारो बसेको सानो खैरो गिद्धलाई हेर्न हेमन्त ढकाल पोखराबाट हरेक शनिबार तनहुँको शुक्लागण्डकी पुग्थे । अति संकटापन्न गिद्धको गतिविधि नियाल्थे । तस्बिर खिच्थे । पृथ्वी राजमार्ग विस्तारका क्रममा गिद्धको अन्डा भएको गुँड रहेको सिमलको रूख ढालिएको छ । अन्डा पारेको दुर्लभ गिद्धले कोरलेर चल्ला पक्कै उडाउला ठानेका संरक्षणकर्मी निराश छन् ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा मुग्लिन–पोखरा जोड्ने सडक चार लेनको बन्दै छ । सडक फराकिलो बनाउँदा मुग्लिनदेखि पोखरासम्म ८ हजार रूख काटिनेछन् भने जामुनेदेखि पोखरासम्मको खण्डमा ३ हजार १ सय ६३ वटा रूख कटान गर्नुपर्छ ।
वन विभागको स्वीकृतिमा निर्माण कम्पनीले रूख काट्न सुरु गरिसकेको छ । पोखराका संरक्षणकर्मीले सानो खैरो (स्लेन्डर बिल्ड) गिद्धले अन्डा कोरलेर बच्चा हुर्किंदासम्म सिमलको रूख नकाटिदिन आग्रह गरेका थिए ।
पोखरा पन्छी समाजले विश्वमै दुर्लभ गिद्धको महत्त्व बुझाउँदै पुस २० मा शुक्लागण्डकी नगरपालिकालाई पत्र लेखेर सडक विभागसँग समन्वय गरिदिन ध्यानाकर्षण नै गराएको थियो । शुक्लागण्डकीको २ नम्बर वडा कार्यालयलाई पनि यसबारे जानकारी गराएको थियो । सडक डिभिजन कार्यालय दमौलीलाई पनि ध्यानाकर्षण नगराएको होइन । संरक्षणकर्मीको आग्रहलाई बेवास्ता गर्दै निर्माण कम्पनी यनहुईले गत साता सिमलको त्यो रूख ढाल्यो ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को गिद्ध विज्ञ समूहका सदस्य ढकालले एक दशकदेखि गिद्धसम्बन्धी अध्ययन अनुसन्धान गरिरहेका छन् । दुर्लभ सानो खैरो गिद्धमाथि उनले सन् २०१८ देखि अध्ययन गरिरहेका छन् । नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबैभन्दा कम संख्यामा सानो खैरो गिद्ध पाइन्छ । यी गिद्धको संख्या देशभर ५० देखि ७५ को हाराहारीमा मात्रै छ ।
एकपल्टको प्रजनन अवधिमा यो गिद्धले अग्लो रूखमा गुँड बनाएर एउटा मात्रै अन्डा पार्छ । अरू बेला गुँड नबनाई सुरक्षित स्थानमा बस्छ । पछिल्लो समय देशभर ४ ठाउँमा यो गिद्धको गुँड अभिलेख गरिएको छ । तिनैमध्ये थियो शुक्लागण्डकीको दुलेगौंडा र कोत्रेको बीच गाछेपानीमा राजमार्ग छेवैको सिमलको रूख । उक्त गिद्धले पोहोरै अन्डा पारेर एउटा बच्चा हुर्कायो । यस वर्ष त्यही रूखको अर्को हाँगामा गुँड बनायो ।
ढकालका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दाङ, पोखराको दोबिल्ला र तनहुँको गाछेपानीमा यो गिद्धको गुँड अभिलेख गरिएको थियो । यो गिद्धले असोज–कात्तिकमा गुँड बनाउँछ, मंसिरमा ओथारो बस्छ । ४५ देखि ५५ दिनमा अन्डा कोरलेर बच्चा निकाल्छ । वैशाखसम्ममा बच्चा हुर्काएर उडाउँछ । गिद्धको यो प्रजाति ३५ वर्षसम्म बाँचेको अभिलेख छ ।
०२६ सालमा रेखांकन भएको पृथ्वी राजमार्गमा सवारीको चाप बढ्दै गएपछि मुग्लिन–पोखरा खण्ड चार लेनको बनाउन लागिएको हो । उक्त भागको ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का अर्को चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यो प्याकेजको ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाइएको छ ।
पन्छी समाजको आग्रहलाई शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङले स्वीकार गरेका थिए । उनले सानो खैरो गिद्धले चल्ला हुर्काएपछि मात्रै उक्त रूख काट्ने आश्वासन दिए । तर निर्माण कम्पनी र सडक विभागसँग समन्वय गरिदिएनन् ।
समाजका अध्यक्ष मनशान्त घिमिरे रूख काटेर निर्माण कम्पनीले वातावरणीय मात्र नभई संवेदना पनि नदेखाएको बताउँछन् । ‘विकसित मुलुकहरूका दुर्लभ पशुपन्छीलाई बाधा हुने देखिए निर्माणको काम संरक्षणकर्मीले अनुरोध गरेको समयसम्म रोक्ने चलन छ । हामीले दुई महिना पर्खिदिन गरेको आग्रहको बेवास्ता गरिएको छ,’ उनले भने ।
ठेकेदार कम्पनीका अनुसार सडक विस्तारअन्तर्गत तनहुँमा मात्रै अहिलेसम्म २ हजार २ सय रूख काटिसकिएको छ । कम्पनीका सहायक आवासीय इन्जिनियर मोहन केसी भने गिद्धको गुँडबारे आफूलाई कुनै जानकारी नआएको बताउँछन् ।
‘चल्ला हुर्काउने बेलासम्म रूख जोगाउन सकिन्थ्यो,’ उनले भने, ‘हामीलाई पनि थाहा भएन र सम्बन्धित निकायबाट पनि कुनै जानकारी आएन, रूख ढल्यो ।’ उनका अनुसार विद्युत् प्राधिकरणको प्रसारण लाइन नसार्दासम्म काट्न नमिल्ने रूख अझै बाँकी नै छन् । सिमलको रूखलाई पनि केही महिना जोगाउन सकिन्थ्यो ।
आजकाे कान्तिपुरमा समाचार छ ।