• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

तुलसीपुर आगलागी : एक महिना अघि मात्रै त्याे घरमा काेठा सारेका थिए बकस परिवारले


खकेन्द्र केसी

माघ २७, दाङ ।

शुक्रबार दाङ तुलसीपुर बजारकाे ‘ङ’ लाइनको एउटा  घरमा भएकाे आगलागीमा परि दुई परिवारका पाँच जनाकाे मृत्यु भयाे । मृत्यु हुने एउटा अलि परिवार हुन् भने अर्का बकस परिवार हुन् ।

अलि परिवारमा ४० वर्षीय नगरदिन अली सहित उनका ५ वर्षीय छोरा अबिददिन अली र १३ वर्षीया छोरी सुजिता खातुनकाे मृत्यु भएकाे छ भने बकस परिवारमा दाजुभाइ १६ वर्षीय मसिन बकस र १४ वर्षीय हसन बकसको मृत्यु भएकाे छ ।

चार तला रहेकाे उक्त घरमा पहिलाे र दाेस्राे तलमा जुत्ता चप्पलकाे पसल तथा गाेदाम छ भने तेस्राे र चाैथाे तलामा तीनवटा परिवार बस्थे । तीन परिवार हुन अलि, बकस र मियाँ ।

बकस परिवार

साे घरमा रहेकाे इरम फुटवेयर चप्पल गोदाम बकस परिवारकाे हाे । बकस परिवार करिब ५/६ वर्ष पहिले सुर्खेतबाट व्यापार गर्न तुलसीपुर आएका थिए । याे परिवारमा ५ जनाकाे संख्या थियाे । श्रीमान-श्रीमती दुई छाेरा र एक छाेरी थिए ।

घटना हुने दिन श्रीमान सुर्खेत थिए । आमाछाेरी एउटा काेठामा सुतेका थिए भने मृत्यु हुने दाजुभाई अर्काे काेठामा सुतेका थिए । आगलागी भएर धुँवामा निसास्सिएर दाजुभाई मृत्यु भएको छ भने उनीहरूकी आमा र दिदी भागेर बाँच्न सफल भएकी छन् ।

बकस परिवारले केहि समय पहिले दुधेनामा एउटा घर बनाएका थिए । महिनादिनभन्दा अगाडी उनिहरु यहाँ पसल गरेपनि सुत्न दुधेनामै जान्थे । तर पसल टाढा भएकाेले नभ्याइने भन्दै उनिहरुले एकमहिना अघि मात्रै यहाँ काेठा सरेकाे नजिकै पसल गर्ने तिलकराज वलिले लेकाली अनलाइनलाइ बताए ।

सोही पसलमा काम गर्ने तुसलीपुर-९ दोघरेका ४५ सुकलाल बस्नेत भाग्यले जोगिए। उनी मस्त सुतिरहेको समयमा कसैले तानेर आगलागी भएको भन्दै ब्युँझाए।

अलि परिवार

नजिकै सासिजा शृंगार पसल गरेर त्यहि घरमा काेठा भाडामा बस्ने अलि परिवारमा तीनजनाकाे मृत्यु भयाे । परिवार धनि नगरदिन अलि सहित उनका दुई जना छोराछोरीकाे ज्यान गएकाे हाे ।

याे परिवारमा नगरदिन सहित उनका बुबाआमा, श्रीमती, दुइ छाेरा र एक छाेरी थिए । घटनामा नगरदिन सहित कान्छाे छाेरा र छाेरीकाे मृत्यु भएकाे भने बुबाआमा, श्रीमती र जेठाे छाेराे बच्न सफल भए ।

आगलागी भएपछि नगरदिन बुबाआमा श्रीमती सहित बाहिर आएका थिए तर काेठाभित्र सुतेका छाेरा र छाेरीलाइ भित्र ल्याउन जाँदा उनि फेरि बाहिर निस्कन सकेनन् । तिनैजनाकाे भित्रै निसासिएर ज्यान गयाे ।

नगरदिनको पुर्खेउली घर अर्घाखाँची हाे । उनि केहिवर्ष पहिले तुलसीपुर आएका हुन् ।

मियाँको परिवार सकुशल

आगलागीबारे सुरुमा थाहा पाएका मोहमद आशिष मियाँको परिवार भने सकुशल बाँच्न सफल भए । मोहमद आशिषले राति घरमा आगलागी भएको थाहा पाएपछि चिच्याउँदै बाहिर निस्किन सफल भए ।

उनको कोठामा उनका बुवा, आमा, दिदी र बहिनी गरी पाँचजना बस्थे । उनीहरू चिच्याउँदै बाहिर निस्किए । उनीहरू चिच्याएपछि अन्य कोठाका परिवार पनि हत्तपत्त बाहिर निस्किन प्रयास गरे ।

व्यापारिक प्रयोजनका लागि प्रयोगमा थियाे घर

घरका मालिक बैंकका पूर्वकर्मचारी बकसबहादुर केसीको भए पनि उनीहरू हाल काठमाडौं बस्दै आएका छन् । पूरै भाडामा भएको घर व्यापारिक प्रयोजनका लागि प्रयोग भए पनि तीन परिवार भने बस्ने गर्दथे । मानिस बस्नेबाहेक अन्य कोठामा गोदाम बनाइएको थियो ।

राति साढे १२ बजेतिर आगलागी भएको भए पनि बिहान ८ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको थियाे । पहिले तुलसीपुरकाे एउटा दमकलले मात्रै आगो निभाउने प्रयास गरेपनि त्यसले सम्भव नभएपछि घोराहीबाट पनि दमकल ल्याइएकाे थियाे । केहि ट्यांकरहरु पनि ल्याएर आगो निभाउने प्रयास गरिएकाे थियाे ।

७ करोड बराबरको धनमाल जलेर नष्ट

आगलागीबाट झन्डै सात करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पीडितले दिएको निबेदनमा सात करोड जति क्षति भएको उल्लेख छ ।

जुत्ता चप्पलको गोदाम र कष्मेटिकको समेत गोदाम रहेका कारण दुबैको गरि सात करोड बराबरको क्षति भएको बिबरण पेश पीडितले उल्लेख गरेको डिएसपी अर्यालले बताए ।

याे पनिः दाङ तुलसीपुरमा भीषण आगलागी, ५ जनाको मृत्युु (नामावली सहित)

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार