• २०७९ मङ्सिर २४ गते शनिवार
  • Preeti To Unicode

विप्लव र बिजुक्छेंबीच पौने दुई घण्टा छलफल


फागुन १८, काठमाडाैं ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच बुधबार साँझ भक्तपुरमा भेटवार्ता भएको छ।

कमलविनायकस्थित एक क्याफेमा भएको भेटवार्तामा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसद्‌बाट पारित भएपछिको विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

भेटमा भएको छलफलबारे भने दुवै पक्षले सार्वजनिक गरेका छैनन्।

बिजुक्छेंलाई भेट्न विप्लव पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई साथमा लिएर अपराह्न साढे ४ बजे कमलविनायक पुगेका थिए। भेटवार्ता सवा ६ बजेसम्म चलेको थियो। छलफलमा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवाल पनि सहभागी भएका थिए।

संसद्ले एमसिसी पास गरेसँगै बदलिएको राजनीतिक परिस्थितिमा दुई वाम घटकका नेताहरूको लामो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

दुवै दल एमसिसीका प्रखर विरोधी दल हुन्। दुवै दलले एमसिसी संसद्‌बाट पारित गर्न नहुने भन्दै आन्दोलन समेत गरेका थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार