• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

मैले पहिलो पटक वर्थडे मनाउन पाए


डिल्लीराज रावल 
हो साँच्ची तपाइलाई मैले सिरियसली भनेको बड्डे मनाउन म कहाँ पाउनु ।
विहानै कोठाको अर्को छेउको खाटमा सुतेकी ठुली छोरीले हेप्पी वड्डे बाबा भनिन् । मैले धन्यवाद दिन नपाउदै त्यो सुनेका सानी छोरी र उनको आमाले हाम्रो पनि हेप्पी वड्डे भनेपछि मैले सबैलाइ एकमुस्ट धन्यवाद दिए ।
मेरो जन्मदिन आज हो या होइन जेठ त हो तर वार र गतेको बारेमा आमालाई पनि थाहा छैन । २०५७ सालमा हुनुपर्छ सायद कक्षा ८ मा पढ्दा खेरी कति बर्षको भईस भनेर सोधेका सरलाई ११ बर्षको भए जेठमा हो रे गते थाहा भएन सर भनेको मेरा लागि जन्मदिन ७ गते सरले नै बनाइदिनुभएको हो ।
साँच्ची आकाशको सुर्य (दिन) हेरेर दैनिकी र चन्द्रमा (जुन) हेरेर रात विताउने मेरो आमालाई म मकै लगाउने बारी जोत्ने समयमा जन्मेको याद छ रे अरुको खासै के याद हुनु ।
अचेल आमालाई सोध्छु आमा म कस्तो थिए म ? भनेर । आमा भन्नुहुन्छ: बाबु तेरो कुरा के गर्नु, कहिल्यै रोएनस्, मेरो दुध पनि मैले खुवाए मात्रै हो खाने, कहिल्यै दु:ख दिइनस्, खेल्दाखेल्दै (सिकुवा, मैरो, डोको) जहाँ निद लाग्यो त्यहि सुतेको हुन्थिस् । मेरा बच्चाहरुमा बहुत सोझो थिइस तँ ।
एउटा कुरा बाबु त्यो बेलाको अवस्था नै त्यस्तै रोग, भुत, वाइले एकैछिनमा वच्चावच्ची मर्थे तर तलाई केहि भएन । सामान्य रुघाखोकी र ज्वारो त त्यसै सन्चो हुन्थ्यो । अँ साँच्ची तँ काचै छस र डर लाग्छ । मेरो प्रश्न: काँचै भनेको के आमा ? आमा भन्नुहुन्छ: दादुरा के दादुरा बाबु, दादुरा सबैलाइ भए तँलाइ भएनन ठुलो मान्छेलाई भए गाह्रो हुन्छ रे त्यसैले तँ काचै छस । ह्या आमा मलाइ हुदैनन अव दादुरा सादुरा म त ३५ बर्ष पुगिसके त मेरो जवाफ ।
जस्ता भएपनि सन्तानलाइ बाआमाले सानै ठान्छन सायद …..।
हाम्रो आमाले ३ सन्तानलाइ आँशुका धारा बगाउदै घरछेउका बुट्यानमा अन्तिम श्रद्धाञ्जली दिनुभएको रहेछ, त्यसमा अरु ४ भाइबैनी र म परेनौं । आजको दिनमा मृतक ३ दाजुदिदिलाई श्रद्धाञ्जली छ । हो आमाले भनेजस्तो त्यो बेला धेरै बालबालिकाले अकालमा नै ज्यान गुमाउनुपथ्र्यो । पोषिलो खानपानका साथै हेरचाह र औषधीउपचारको व्यवस्था नहुदा उनिहरुले ज्यान गुमाउनु परेको हो । अहिले जस्तो व्यवस्था त्यो बेला कहाँ थियो र ?
तपाइलाई कुन आमाले आफ्नो सन्तानलाइ माया गर्दैनन होला र ? भन्नेलाग्ला तर पनि मेरो आमा मलाई अरु दाइ, भाइ र बैनी भन्दा अली बढ्ता माया गर्नुहुन्छ । कारण म जेलमा मरेको मान्छेको पनि बाँचेको भन्ने लाग्छ मेरो आमालाइ । त्यो कुरा पनि यहि स्तम्भमा खुलाउदैछु ।
२०४४ जेठमा जन्मेको म जान्ने हुदासम्म हालको कुमाख ३ (तत्कालिन मर्मपरिकाँडा ८) को जोगिनगाडेमा नै बसे । २०५२ तिर होला सायद हाम्रो गाउँको पुरै बस्ती त्यहि वडाको तल (जिउला) झर्‍यो । गाउँमा हाम्रो घर राम्रै थियो तर जिउलामा पुराना राम्रा घरमा ठुलोबा र कान्छाबुबाको परिवार बसिरहेकोले हामी पुरानो एउटा थारे गोठ घरमा बस्थ्यौं ।
केहि बर्षमा हाम्रो बाबाले बहुत दु:ख गरेर अरुका जस्तै ३ तले ढुंगे घर बनाउनुभयो । हाम्रो घर बनाएको ठाउ र अन्न उब्जाउने खेत अलि टाढा भएकाले हामीले खेतमा कटेरो बनाएर धान भित्राउदाको चिसो र गहु भित्राउदाको हुरी बहुत खेप्यौं । यो जेठमा गहुँ भित्राइसकेपछि खेतकै कटेरोमा धानको खेति तयारीका लागि बास बस्थ्यौं । मलाई याद छ यस्तै समय हो सायद मेरो जन्मदिन मनाउने जेठ महिनाका दिनहरुमा कुनै दिन होला त्यो। बाबा आउनुभएको थिएन आमा, माइलोदाइ, म, भाइ र बैनी कटेरोमा रात काटिरहेका थियौं एक्कासी ठुलो हावाहुरीले कटेरोको छानो उडाएको थियो, हामीले नजिकैको घट्टमा त्यो अध्यारो रात गुजार्यौ ।
अहिलेका जस्ता छानीछानी लगाउने कपडा हामीले कहाँ पाउनु त्यो बेला । एक जोर स्कुल ड्रेससंग बर्षभरी विताउने हामीले न्यानो कपडा लगाउन त जोडेगाँसेका (टालो हालेका) भाउलेभाउले कपडासंग पुसमाघको जाडो कटायौं । हाम्रो यस्तो अवस्था आमा बाबाका अभावका दिनका कारण नै हुन । यस्ता दु:ख काट्ने मेरो आमाबाले दशै र तिहार बाहेक अरु पर्व र मेरो जन्मदिन कसरी मनाउनुहुन्थ्यो र ?
२०५८ मा मैले बाबाआमा र परिवारले भनेको नमानेर पढाई छाडि जनयुद्धमा जोडिए । त्यसपछि २०६३ सम्मका दिनहरु जन्मदिनको भन्दा पनि मृत्युको दिनसंग लड्नुपर्ने दिनहरु थिए । २०६० सम्म सल्यानमा नै साँस्कृतिक रुपान्तरणका निम्ती काम गरेको मैले जनयुद्धका बाँकी दिनहरु पर्वत, स्याङ्जा, कास्की, पाल्पा, नवलपरासी, रुपन्देहीमा साँस्कृतिक तथा सैन्य मोर्चामा रहेर काम गर्ने अवसर प्राप्त गरे । ९ र १० कक्षा नपढेरै १ महिनाको तयारीमा २०६२ को एसएलसी दिएको मैले परिक्षा हलबाट अपहरित भई १९ दिने जनआन्दोलनका दिनहरु सल्लीबजार, सिमखर्क र खलंगाको सबुजगण सैन्य हिरासतमा विताए । परिवार र गाउँका सबैले मेरो मृत्युको खबरको दिन कुरिरहेका थिए तर पनि विद्यालयबाट पक्रेको, १९ दिनसम्म आन्दोलन भएको, संसदपुनर्वहाली भएको कारणले नै मैले त्यो बेला मृत्युको दिन देख्नुपरेन ।
सेनाको निगरानीमा एसएलसी दिएको मैले एसएलसी राम्रै संग पास गरे । २ बर्ष सुर्खेतमा म्याथ विषय लिएर प्लस टु पढेपछि नयाँ खुल्दै गरेका मा.वि.मा म्याथ टिचर नबनेर २०६५ साल बाट अहिले पनि सल्यान जिल्लामा रहेर पत्रकारीता थालेको मैले जन्मदिन मनाउने फुर्सद कहाँ पाउनु ।
तर आज विहान घर नजिकैको बारीमा तरकारी लगाउने काम सकेर खानको लागि घरमा आएको मलाई छोरीहरुले सानो स्पिकरमा हेप्पी वर्थ डे टु यु वाला संगित बजाएर टिका लगाइदिए, अनि केहि खानेकुरा दिए, एकथान कपडा जो प्याक गरिएको थियो । त्यो संगै मेरो गजवको फोटो भएको फ्रेममा Happy Birth Day BABA. Hope today is a great celebration, filled with good times and laughter. Relax and enjoy all those little things that make you the happiest. (नेपालीमा: जन्म दिनको शुभकामना बाबा । आशा आज को एक महान उत्सव हो। यो रमाइलो समय र हाँसोले भरिएको छ। आराम गर्नुहोस् र तपाईंलाई सबैभन्दा आनन्दित तुल्याउने साना कुराहरूबाट आनन्द उठाउनुहोस्।) लेखिएको थियो ।
उनिहरुसंगै जीवनसाथी (प्रगती)ले पनि टिका लगाइदिइन । घरमा आमाबालाई फोन गरेर सम्झियौं । त्यसैले पहिलो पटक मैले वड्डे मनाए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार