साउन ८, पाल्पा ।
गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटनामा परेको छ ।
दुर्घटनामा परि ६ जना यात्रुको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो । बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उक्त ठाउँ नजिक यसअघि मलामी सवार बस दुर्घटना भएको थियो । गत पुस १८ गते भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए ।