साउन १४, सल्यान ।
आफुले बनाउन चाहेको व्यक्तिले नाम ननिकालेपछि सल्यानको एक विद्यालयमा शिक्षकको परिक्षा नै रद्द गरिएको छ ।
जिल्लाको बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ७ सिम्तिगैरा स्थिति बाल कल्याण प्राथमिक विद्यालयमा रिक्त रहेको राहत शिक्षकमा आफुले बनाउन चाहेको मान्छेले नाम ननिकालेपछि विव्यस अध्यक्ष, प्रधानध्यापक सहित विषय विज्ञहरु परिक्षा स्थलबाट नतिजा रोकेर भागेका छन् ।
उनिहरुले आफुले बनाउन चाहेको व्यक्ति परिक्षामा पास हुन नसकेपछि परिक्षा रद्द गर्ने उदेश्यले त्यहाँबाट भागेको नगर शिक्षा शाखा प्रमुख धुर्वा थापाले लेकाली अनलाइनलाई बताइन् ।
उनले भनिन्, ‘विज्ञापन गरिएकोमा १५ जनाले फारम भर्नुभएको थियो । परिक्षामा १२ जनाले सहभागीता जनाउनु भयो । पहिलो पेपरमा एकजना मात्रै पास हुनुभयो । त्यसपछि विव्यस अध्यक्ष, प्रअ लगायत परिक्षा स्थलबाट भाग्नु भयो ।’
सम्बन्धित व्यक्तिहरु भागेपछि आफुले केही गर्न नसकेको बताउँदै उनले परीक्षा रद्द गरिएको बताइन् । यस सम्बन्धी नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराइएको र उनले अर्को परिक्षा गराउन निर्देशन दिएको शाखा प्रमुख थापाले बताइन् ।
उता विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवि सार्कीले आफुहरुले पुरुष शिक्षक खोजेको तर महिलाको नाम निस्केपछि बहिस्कार गरेको बताईन् । तर महिला वा पुरुषलाई छुट्याएर विज्ञापनमा कुनै कुरा उल्लेख भने गरिएको छैन् ।
‘यसबारे मलाई त्यति धेरै थाहा पनि छैन् । म पढेलेखेको मान्छे पनि होइन । यसबारेमा प्रधानाध्यापकलाई थाहा छ’,विव्यस अध्यक्ष सार्कीले भनिन् । प्रधानाध्यापकलाई भने धेरैपटक प्रयास गर्दापनि हिजोदेखि उनको फोन उठेको छैन् ।