• २०७९ मङ्सिर २२ गते बिहिवार
  • Preeti To Unicode

विप्लव देखि धर्मेन्द्र बाँस्ताेलासम्मका दर्जनाैं नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी


साउन १६, काठमाडाैं ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत दर्जनभन्दा बढी शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

विप्लवबाट छुट्टिएर अलग्गै पार्टी खाेलेका धर्मेन्द्र बाँस्ताेला ‘कन्चन’, उदयबहादुर चलाउने सहितका नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी छ ।

जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, धर्मेन्द्र बाँस्ताेला ‘कन्चन’, सन्ताेष बुढामगर, केन्द्रीय सदस्यहरू सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, नविन विश्वकर्मा, उमा भुजेल, उदयबहादुर चलाउने लगाएतका दर्जन बढी नेताहरुलाइ ३५ दिन भित्र अदालतमा हाजिर भनिएकाे छ ।

उनीहरू विरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्दा छ ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ता तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरू विरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैन, जसका कारण अदालतले समय समयमा नै उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार