• २०७९ माघ १७ गते मङ्गलवार
  • Preeti To Unicode

खलंगा सितलपाटी खानेपानीको छठौँ साधारणसभा


भदाै १९, सल्यान ।

सल्यानकै सबैभन्दा ठुलाे खानेपानी संस्था खलंगा-सितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको छैठौँ साधारणसभा सम्पन्न भएकाे छ । शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीकाे प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष केशव बहादुर बुढाथाेकीकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।

खलंगा सितलपाटी लिफ्ट खानेपानी आयोजना मार्फत नगरभित्रका दुई हजार बढी घरधुरीमा शुद्ध खानेपानी पुगेको संस्थाका अध्यक्ष बुढाथाेकीले बताए । उनकाअनुसार शारदा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ भित्रका निजि तथा सरकारी कार्यालय र बिद्यालयमा गरेर दुई हजार एक सय चार घरधुरीमा शुद्ध खानेपानी पुगेको हो ।

अध्यक्ष बुढाथोकीले २०७१ सालमा निर्माण सम्पन्न यस आयोजनाबाट पानीको पहुँच बाहिर रहेका नागरिकहरु लाभान्वित भएको बताए । करिब साढेँ १५ करोड रुपैँयाको लागतमा यस आयोजना सम्पन्न भएको थियो ।

उनले २४ सै घण्टा उपभोक्ताको घर घरमा खानेपानी पुर्याउनको लागि थप डिजाइन र पुर्वाधार निर्माणको काम बाँकी रहेको बताए । यस्तै यसक्षेत्र भित्र रहेका पुरानो पानीका योजनालाई व्यवस्थित गरी त्यसक्षेत्रका उपभोक्ताको घर घरमा मिटर जडानद्धारा पानी वितरण गरिएको उनको भनाइ छ ।

साधारणसभामा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले अव नगरभित्रका कुनै पनि नागरिकले खानेपानीको समस्या भोग्नु नपर्ने बताए । नगरका बिभिन्न वडाहरुमा खानेपानी योजना सञ्चालन भैरहेको र बाँकी स्थानमा पनि योजना सञ्चालनको तयारीमा रहेकाले अवका केही बर्षमा नै नगरका सबै नागरिकको घर घरमा खानेपानी पुग्ने उनकाे भनाइ छ ।

साधारण सभामा नेपाली काँग्रेसका नगरसभापति दिपक हमाल, नेकपा एमालेका नगर कमिटी अध्यक्ष मधुसुदन शर्मा, नेकपा माओवादी केन्द्रका नविन भडेँल, नगरका विभिन्न वडाका वडाध्यक्षहरु, खानेपानी सरसफाइ तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटा, संस्थाका सल्लाहकार समिती सदस्य विर बहादुर सेजवाल, सन्तोष कुमार राई लगाएतकाले मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष मौषमदास श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुधन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार