असाेज ४, काठमाडाैं ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।
समानुपातिक निर्वाचनको लागि आयोगले असोज २ र ३ गते उम्मेदवारी दर्ताको मिति तय गरेको थियो । प्रतिनिधि सभातर्फ ११० जना र सात प्रदेशको लागि कुल २२० सिटमा दलहरूले समानुपातितर्फको उम्मेदवारी दर्ता गराएका हुन् ।
समानुपातिक समावेशी सिद्धान्तको आधारमा समानुपातिक उम्मेदवार चयन गर्नुपर्ने कानूनी प्रावधान छ । त्यसका लागि उम्मेदवार चयन गर्ने क्लस्टर नै तोकिएको छ । क्लस्टरअनुसार, उम्मेदवारको नामावली नमिलेमा निर्वाचन आयोगले आगामी असोज १६ गतेसम्म सच्याउने समय दिने छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका ठूला दलहरूले सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको सूची पेश गरेका छन् ।
समानुपातिक निर्वाचनको विकृत अभ्यास यस पटक पनि देखिएको छ । पार्टीका प्रभावशाली हैसियतमा रहेका, सत्ता र शक्तिमा हालीमुहाली गरेका व्यक्तिहरू समानुपातिक सूचीमा समेटिएको छ ।
नेपाली कांग्रेसको समानुपातिक सूचीमा प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ आरजु राणाको नाम समेटिएको छ । उनी विभिन्न पाँच निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारको लागि सिफारिस भएकी थिइन् । यसअघि २०७४ मा आरजु कैलाली–५ बाटै प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । उनलाई एमालेका नारदमुनि रानाले चुनाव हराएका थिए । यस पटक पनि उनी प्रत्यक्षतर्फकै उम्मेदवार बन्ने चर्चा थियो । तर, अन्तिममा कांग्रेसले प्रधानमन्त्री पत्नीलाई समानुपातिक सूचीमा समेटेको हो ।
कांग्रेसका अर्का प्रभावशाली नेता र पटक पटक राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा पुगेका विमलेन्द्र निधि पनि समानुपातिक उम्मेदवार बनेका छन् । निधिको नाम गृहजिल्ला धनुषाबाटै समानुपातिक उम्मेदवारको रुपमा सिफारिस भएर आएको थियो ।
पटक पटक मन्त्री भएका निधि गत मंसिरमा कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापति पदका उम्मेदवार थिए । उनी पहिलो चरणमा सभापतिको प्रतिस्पर्धामा पछि परेका थिए । २०७४ मा चुनाव हारेका निधिले यस पटक संसदमा पुग्नका लागि समानुपातिकको सजिलो भर्याङ रोजेका हुन् ।
त्यसबाहेक, कांग्रेसका नेताहरू गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिकतर्फको उम्मेदवारको सूचीमा समेटिएको कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेसका अर्का प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत पनि समानुपातिक उम्मेदवार बनेको चर्चा कांग्रेसका नेताहरुले गरेका छन् ।
उनी २०७४ को चुनावमा काठमाडौं–५ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी एमालेका उम्मेदवार ईश्वर पोखरेलसँग पराजित भएका थिए । उनी यसपटक नुवाकोटबाट चुनाव लड्ने चर्चा थियो । महत अहिले कांग्रेसको प्रवक्ताको जिम्मेवारीमा छन् ।
यसैगरी माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नै समानुपातिक उम्मेदवार बनेका छन् । यसअघि चार पटक चुनाव लडेका महरा २०७४ को चुनाव जितेपछि प्रतिनिधि सभाको सभामुख बनेका थिए । यौन दुर्व्यवहारको अभियोग लागेपछि उनको सभामुख पद खुस्किएको थियो । पछि, अदालतले उनलाई सफाइ दिएको थियो ।
उनले धेरै ठाउँबाट उम्मेदवार भइदिन आग्रह आएकाले एक ठाउँको मात्रै उम्मेदवार हुनभन्दा देशकै उम्मेदवार हुनका लागि समानुपातिक रोजेको दावी गरेका छन् । समानुपातिकको पहिलो नम्बरमै आफ्नो नाम हुने उनले बताएका छन् ।
त्यसबाहेक, माओवादी केन्द्रले पेश गरेको समानुपातिक उम्मेदवारको सूचीमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनाको नाम पनि समावेश गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति नेपाल समाजवादी दलले गरेको छ ।
एकीकृत समाजवादी बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा उक्त दलका शीर्ष नेताहरुको नाम समावेश गरेको छ । उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा. गंगालाल तुलाधर, सचिव नागेन्द्र चौधरीको नाम समानुपातिक उम्मेदवारको सूचीमा समावेश भएको छ ।
हमाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्वाचित भएको काठमाडौं–२ बाट चुनाव लड्ने चर्चा थियो । पार्टीमा उपमहासचिव र केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रहेका तुलाधर धादिङ–२ का सम्भावित उम्मेदवारकोरूपम चर्चामा थिए । तुलाधर एमालेमा हुँदा २ पटक धादिङ–२ बाट निर्वाचित भएका छन भने २ पटक नै पराजित पनि भएका छन् ।
त्यसैगरी, नेकपा एसका सचिव नागेन्द्र चौधरी पनि समानुपातिकमा समेटिएका छन् । उनी यसअघि एमालेमा पनि समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।
एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, केन्द्रीय लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिटब्युरो सदस्य दीलकुमारी पन्त पनि समानुपातिक सूचीमा परेका छन् ।
नेकपा एमालेले बुझाएको समानुपातिक सूचीमा पार्टीको शीर्ष तहका नेतालाई समावेश नगरेको उक्त पार्टीका एक नेताले जानकारी दिए । एमालेले सकेसम्म यसअघि समानुपातिक उम्मेदवार भइसकेका व्यक्तिलाई यस पटक नदोर्याएको बताएको छ । एमालेले उम्मेदवार छनौटको मापदण्ड बनाउँदा नै यसअघि समानुपातिकतर्फको उम्मेदवार भइसकेका व्यक्तिलाई नदोर्याउने मापदण्ड बनाएको छ । उम्मेदवार छनौटको क्रममा मापदण्डलाई कडाइका साथ पालना गर्ने प्रयास गरिएको ती नेताले बताए ।
एमालेमा चुनाव लड्ने इच्छा नगरेका केन्द्रीय सचिवालयका नेताहरू उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरू पनि समानुपातिक सूचीमा समेटिएका छैनन् ।
त्यसबाहेक, माओवादी केन्द्रबाट एमाले प्रवेश गरेर उपाध्यक्ष बनेका रामबहादुर थापा समानुपातिक सूचीमा रहने चर्चा थियो । तर, पार्टीले उनलाई पनि समानुपातिक उम्मेदवार नबनाएको एक नेताले जानकारी दिए ।
पार्टीका अध्यक्ष असाध्यै निकट रहेका उप–महासचिव विष्णु रिमाललाई समानुपातिक उम्मेदवार बनाउनकै लागि केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिव बनाइएको चर्चा एमालेभित्र थियो । तर, उनले पनि समानुपातिकमा अवसर पाएनन् ।
एमालेले स्थायी कमिटी सदस्य रघुजी पन्तलाई भने समानुपातिकतर्फको उम्मेदवार बनाइएको छ । त्यसबाहेक, गोरखबहादुर बोगटी, ईश्वर रिजाल, लीलबहादुर थापा, प्रेमबहादुर सिंहको नाम पनि समानुपातिक सूचीमा समेटिएको छ ।
-लाेकान्तरबाट