• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

मानवसेवा आश्रममा निशुल्क औषधी वितरण


Author Logo..
तुफानबाबु श्रेष्ठ

दाङ, ६ असोज । नेपाल औषधी थोक व्यवसायी संघ दाङ शाखाले सामाजिक उत्तरदायित्व वहन गर्दै मानवसेवा आश्रम तुलसीपुरमा निशुल्क औषधी वितरण गरेको छ । कार्यक्रममा आश्रमकी संचालिका सिर्जना अधिकारीले हेटौडामा केन्द्रिय कार्यालय रहेको मानवसेवा आश्रमको हालसम्म देशका १६ वटा जिल्लामा शाखा रहेको बताउनु भयो ।

तुलसीपुरमा रहेको शाखाको व्यवस्थापन सन्तोषजनक रहेको र ६५ जना वेसहारा तथा सडक मानवहरुको उद्दार गरिए संगै सबैलाई उचित सरसफाई, खानपिन र औषधी उपचार तथा बसाईको प्रवन्ध गरिएको उहाँको भनाइ थियो । यति धेरै मेहेनतका साथ व्यवस्थापन हुँदै आएको संस्था हाल महंगो भाडा तिरेर सन्चालन गर्दा यसको व्यवस्थापनको निरन्तरता र दिगोपनमा कतै समस्या त आउने होइन ? भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रिय सदस्य शरदराज शर्माले आश्रममा रहनुभएका बुवा-आमाहरुको स्वास्थ्य लाभको कामना गर्दै छिट्टै पारिवारिक पुनर्मिलनको लागि शुभकामना दिनु भयो । साथै उहाँले स्थानिय सरकार वा निकाय तथा सरोकारवालाहरुले मानवसेवा आश्रमको व्यवस्थापनमा चासो देखाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शालिकराम आचार्यले बिग्रदो मानव सभ्यता, मान्छेको स्वभाब तथा व्यहोरामा मानविय नैतिकता, आदर्श, मुल्य-मान्यता, दया-माया-करुणा र सद्वावको खडेरी परिरहेको अवस्थामा मानव सेवाको भावले अशक्त घरवार विहिन, मानसिक रुपले विक्षिप्त भएका, खाना-नाना र छाना विहिन मानवहरुको उद्दार गरी मानव कल्याणको काममा लाग्नु भएका आश्रमका संस्थापक तथा व्यवस्थापकहरुलाई धन्यवाद दिनुभयो ।

नेपाल औषधी थोक व्यवसायी संघ दाङ शाखाका अध्यक्ष शेषकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ढकालले मानवसेवा आश्रमलाई स्वास्थ्य उपचारको लागि औषधी उपलव्ध गराउने काममा निरन्तरता दिने र सम्भव हुन सक्ने हरेक सहयोगको लागि आफ्नो संस्था प्रतिवद्द रहेको धारणा व्यक्त गर्नुभयो । दाङमा कृयाशिल औषधी थोक व्यवसायीहरुको उल्लेख्य मात्रामा उपस्तिथी रहेको कार्यक्रमको सहजिकरण संघका जिल्ला शाखा सचिव मरिचमान धितालले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार