• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

बिहेबाट फर्किदा घर नजिकै दुर्घटना : मृत्युु हुने ८ जना एकै गाउँका, ६ जना एउटै परिवारका


असाेज १२, सल्यान ।

सल्यानमा आज बिहान भएकाे डबल क्याप बाेलेराे (जिप) दुर्घटनामा परि एउटै गाउँका आठ जनाकाे मृत्यु भएकाे छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका ६ जलवाङतर्फ जाँदै गरेको रा १ ज ५६३ नम्वरको जीप आज बिहान करिब साढे ३ बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ज्यान गुमाउने आठै जना कपुरकोट गाउँपालिका वडा नं. ६ र ५ काे सिमानामा पर्ने जलवाङ गाउँका स्थानीय हुन् । जीपमा चालकसहित ९ जना सवार थिए । उनिहरु सबै बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा दुर्घटनामा परेको खुलेकाे छ । जलवाङबाट बसाई सरेर बाँकेको ढकेरीमा गएका आफन्तको छोरीको बिहेमा सहभागि भइ फर्किने क्रममा जिप दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परि ज्यान गुमाउने ४५ बर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० बर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ बर्षीय धर्म ओली एउटै परिवारका सदस्य हुन् ।  टाेपबहादुर र धर्म सहाेदर दाजुभाई हुन् भने बसन्त टाेप बहादुरका छाेरा हुन् । कुमारी टाेपबहादुर र धर्म सहाेदर भाउजू हुने भने ललित टाेप बहादुरका अंकलका छाेरा हुन् । दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षिय खुमलाल ओली पनि १३ दिने भाईसन्तान भित्रका पर्दछन् ।

त्यस्तै दुर्घटनामा साेहि गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीकाेपनि मृत्यु भएकाे छ । आठ जनाकाे मृत्युले यतिबेला जलवाङ गाउँ साेकमा रहेकाे स्थानीय खिमा बाेहराले लेकाली अनलाइनलाई बताइन् ।

बिहेबाट फर्किएका उनिहरु घर नजिकै आइपुग्न लाग्दा दुर्घटना भएकाे हाे । दुर्घटनास्थलबाट मृतककाे गाउँ जलवाङ करिब १० किलाेमिटरकाे दुरीमा पर्दछ ।

मृतक सबैकाे शव पाेस्टमार्टमका लागि प्रहरीले घटनास्थलबाट जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे थियाे । शव पाेस्टमार्टमपछि अस्पतालले परिवारकाे जिम्मा लगाएकाे छ ।

९ जना सवार जिप दुर्घटनामा ३५ वर्षीय तिलक ओली मात्र बाँचेका छन् । घाइते भएका उनकाे प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि नेपालगंज रिफर गरिएकाे छ । उनकाे दुबै खुट्टामा गम्भीर चोट लागेको छ। उनको घुडा मुनीबाट दुबै खुट्टा फ्याक्चर भएकाे तुलसीपुरमा उपचार सम्भव नभएपछि नेपालगंज रिफर गरिएकाे हाे ।

घाइते तिलकले आफुहरु सबै निदाएकाे र चालकपनि निदाएकाे हुँदा दुर्घटना भएकाे हुनसक्ने बताए । उता प्रहरीले भने चालकको समेत मृत्यु भइसकेको हुँदा दुर्घटना के कारणले भयो भन्नेबारे एकिन साथ भन्न कठिन भइरहेको बताएकाे छ ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार