अनुसन्धानका डिएसपी बढुवा विवाद, प्रधानमन्त्रीदेखि गृहमन्त्रीकी श्रीमतीसम्मकाे हस्तक्षेप


असाेज १३, काठमाडौं ।

सरकारले गरेकाे राष्ट्रिय अनुसन्धान विभागका १४ डिएसपीलाई एसपीमा बढुवा विवादमा तानिएको छ । क्षमतावान अधिकृतहरुलाइ पाखा लगाउँदै नेताका नजिक र नातेदारहरुलाई डिएसपीबाट एसपीमा बढुवा गरेकाे भन्दै विभागभित्र असन्तुष्टि बढेकाे छ ।

बढुवाका आकांक्षीहरुले फेरि पनि विभेद भएको भन्दै विभागका प्रमुखसमक्ष असन्तुष्टि जाहेर गरेका छन् । उनीहरुले अन्याय भएको भन्दै कानुनी उपचारमा जाने तयारीसमेत गरेका छन् ।

बढुवा हुनेहरुमा राजन शर्मा, मोहन कुँवर, अशोक भट्ट, पवन जोशी, ओम जोशी, हरिष बिष्ट, प्रकाश शाह, रिता अधिकारी, रजनी घिमिरे, सुरेश तिवारी, सुशील महत, केशब न्यौपाने, हेमन्त चौधरी लगायत बढुवामा परेका छन् । लामाे समयदेखि काम गरेका हुमाकान्त पण्डे, विनाेद दुवाडी, विनय कुमार चत्तुरवेदी लगायतका डिएसपी भने बढुवामा परेका छैनन् ।

पहिलो नम्बरमा बढुवा भएका शर्मा माधव नेपालका आफन्त हुन् । दोस्रो नम्बरमा बढुवा भएका कुँवर भिम रावलका भाइ नाता पर्दछन् । तेस्रो नम्बरमा बढुवा भएका भट्ट स्थानीय तहको निर्वाचनमा अछाममा असक्षम घोषित भएका थिए । त्यस्तै पवन जोशी ओम जोशीका आफन्त हुन् ।

बढुवामा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले विवाद हुनेगरी सिफारिस गरेकाे एक अधिकृतले लेकाली अनलाइनसँग भने । विगतकै बढुवामा अन्यायमा परेकाहरुलाई फेरि पनि अन्याय हुनेगरी सिफारिस गरेकाे ति अधिकृतकाे भनाइ छ । कानुनी उपचारबाट बढुवा नरोकियोस् भन्ने ध्येयले अदालत बिदा भइसकेपछि निर्णय गरिएको हुनसक्ने उनले बताए ।

बढुवामा प्रधानमन्त्रीकी श्रीमती आरजु राणा, स्वकीय सचिव भानु देउवा, गृहमन्त्रीकी श्रीमती मन्जु खाण, कांग्रेस उपसभापति पुर्ण बहादुर खड्का, प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासिनी, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, एआइजी ओम प्रकाश जोशी लगायतकाे हस्तक्षेपमा क्षमता नभएका नजिककालाइ बढुवा गरिएकाे श्राेतले बतायाे ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार