• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

मेयर बालेन शाह र उम्मेदवार काेमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


कार्तिक १९, काठमाडौं ।

निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ ।

मेयर बालेनलाई हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे आयोगले स्पष्टीकरण सोधेको हाे ।

देशको राजधानी शहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा उक्त दलसँग कुनै आवद्धता नै रहे भएको जस्तो गरी शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो ।

‘निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ। संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानुनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानुनको परिकल्पना भन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानुन बाहेकका कानुनको उल्लंघन हुनसक्ने विषयमा समेत आयोग सचेत छ ।’ आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानुनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।’

आयोगले शालाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको छ ।

त्यस्तै आयोगले प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ ।

‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ आयोगको स्पष्टीकरणमा भनिएको छ ।
आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकोले आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार