• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

संघ छाेडेर प्रदेशमा लडेका गुलाबजंग शाहकाे राजनीतिक जीवनयात्रा यस्ताे छ


कार्तिक ३०, सल्यान । 

सल्यान प्रदेशसभा (ख) का उम्मेदवार गुलावजंग शाह नेकपा एमालेका पोलिटव्युरो सदस्य हुन् । सल्यानकाे एमालेभित्र सबैभन्दा माथिल्लाे तहमा रहेका शाह संघ छाेडेर प्रदेशमा चुनाव लडेपछि सल्यान प्रदेश सभा (ख) काे निर्वाचन पनि राेचक बनेकाे छ ।

आफुभन्दा पछिल्लाे तहका नेता राप्रपाबाट प्रवेश गरेर एमालेमा आएका राजेन्द्र बिर रायलाइ संघमा उम्मेदवार बनाइ शाह प्रदेशमा उम्मेदवार बनेका छन् । आफ्नाे दाबी कर्णाली प्रदेशकाे मुख्यमन्त्री भएकाे बताउँदै आएका शाहकाे राजनीतिक जीवनयात्रा संक्षिप्तमा बुझौँ ।

शाहको राजनितीक संलग्नता संक्षिप्तमा

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा वि.सं. २०२२ सालमा जन्मीएका गुलाबजंग शाह आफुलाई जनसेवकको रुपमा प्रस्तुत गर्दछन् । २०४० सालमा अनेरास्ववियु पाँचौमा आवद्ध भएका शाह त्यस यता निरन्तर सक्रिय राजनितीमा छन् ।

कर्मचारी अनुभव पनि संगालेका उनी २०४७ सालमा नेपाल कर्मचारी संगठन बाँकेको जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका थिए । शाह २०५० सालमा सल्यान काठमाडौ सम्पर्क मंचमा आवद्ध भएका थिए ।

उनी २०५३ सालमा युवा संघ नेपालको केन्द्रीय सदस्य बने । नेकपा माले सल्यानको तेश्रो जिल्ला अधिवेशनबाट सचिवमा निर्वातिच हुँदै उनी २०५६ सालमा सल्यान १ बाट प्रतिनिधीसभा सदस्य पदको उम्मेदवार बनेका थिए ।

२०५८ मा नेकपा माले र नेकपा एमालेको समिकरण भयो । त्यसबेला उनले एमालेको सल्यान जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी पाएका थिए । सल्यानबाट नेकपा एमालेको राष्टिय प्रतिनिधी सदस्यमा २०६६ सालमा विजयी भएका शाहलाई २०७० सालमा नेकपा एमालेले संविधिानसभा सदस्यको निर्वाचनका लागि सल्यान क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको थियो ।

एमालेको नवौँ महाधिवेशनबाट २०७१ सालमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी संगठन निर्माण र पार्टीको काममा सक्रियताका साथ लागिपरे । शाह त्यतिखेर एमाले सल्यानका पार्टी इन्चार्ज समेत थिए ।

उनी पहिलो प्रदेशसभा निर्वाचनमा २०७४ सालमा सल्यान (क) बाट विजयी बने । यसका साथै शाह नेकपा एमाले कर्णाली प्रदेशको प्रमुख सचेतकमा समेत चुनिए । २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा कर्णाली प्रदेशको प्रमुख सचेतकमा नियुक्त भएका थिए । २०७७ सालमा पार्टी विभाजनपछि फेरी शाह नेकपा एमाले कर्णाली प्रदेशको प्रमुख सचेतकमा नियुक्त भए ।

२०७८ मा नेकपा एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनले पार्टीको पोलिटब्युरो सदस्यको महत्वपूर्ण जिम्मेवारी पाए । पार्टीका कर्णाली प्रदेश सह इन्चार्ज समेत रहेका शाह अहिले प्रदेशसभा सदस्य पदका लागि सल्यान (ख) बाट गठवन्धन विरुद्ध प्रतिष्पर्धामा छन् । उनी यस अघि २०७७ मा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षको जिम्मेवारीमा समेत रहेर काम गरिसकेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार