पुस ९, सल्यान ।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै सुन्ताला उत्पादन हुने ठाउँमा पर्छ सल्यानको कोटमौला । बागचौर नगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने कोटमौला भित्रका दर्जनौं गाउँ अहिले सुन्तलाले राताम्मे देखिन्छन् । यहाँका किसानलाई अहिले सुन्तला टिप्न भ्याईनभ्याई छ ।
झण्डै ५० वर्ष अघिदेखि सल्यानको काटमौलामा सुन्तला खेती सुरु भएको मानिन्छ । अहिले यहाँका दर्जन बढी गाउँमा व्यवसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ । व्यावसायिक सुन्तला उत्पादनले यहाँका किसानको जीनवस्तर नै फेरिएको छ । खेती विस्तारसँगै यहाँका बासिन्दाले गाउँमै रोजगारी पाएका छन् ।
सुन्तला खेतितर्फ किसानको आकर्षण बढे पनि एकीकृत बजार अभाव र रोग किरा नियन्त्रण नहुँदा आफुहरु हैरान भएकाे किसान देव बहादुर डाँगी बताउँछन् । सिट्रस ग्रिनिङ रोगका कारण उत्पादन घट्न थालेको उनकाे भनाइ छ । अर्कोतिर एकीकृत बजार अभावमा अधिकांश किसानले विचौलियाबाट ठगिनुपरेको उनले बताए ।
कोटमौलासँगै सल्यानका धेरैजसो पहाडी क्षेत्रमा सुन्तला उत्पादन हुन्छ । यहाँबाट वर्षेनि आधा अर्ब रुपैयाँ बराबरको सुन्तला देशका प्रमुख सहर तथा भारतसम्म निर्यात हुने गरेको कृषि कार्यालयको रेकर्ड छ ।
सुन्तला उत्पादनलाई अझै आधुनिककरण गर्ने हो भने यहाँ मान्छेको आकर्षण बढ्ने देखिन्छ । स्थानीय सरकारले राम्रो प्रचारप्रचार गरे सुन्तलाबारीलाई कृषि पर्यटकीय गन्तव्यको ठाउँसमेत बनाउन सकिन्छ ।
हेर्नुहाेस् बागचाैर नगरपालिका ८ काेटमाैला डाँगीगाउँका सुन्तला