पाैष २७, सल्यान ।
आज पुस २७ अर्थात नेपाल एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मयन्ती । आजकै दिन राष्ट्रिय एकता दिवस पनि मनाइने गरिन्छ । वि.सं. १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो ।
पृथ्वीनारायण शाहसँग तत्कालि सल्यान राज्यसँग पनि साइनो जोडिएको थियो । पृथ्वीनारायण शाहले आफ्नी छोरी बिलासकुमारीको बिहे तत्कालिन सल्यान राज्यका राजा कृष्ण शाहका छोरा रणभिम शाहसँग वि.सं. १८२३ मा गरिदिएका थिए ।
पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्न प्रेरित गर्ने योगी भगवंत नाथ सल्यान राणागाउँमा बस्थे । पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्न सजिलो होस् भनेर पश्चिमी क्षेत्र पकड जमाउन तिनै भगवंत नाथको भुमिकामा पृथ्वीनारायण शाहकी छोरी र सल्यानी राजाका छोराको बिहे भएको थियो ।
त्यतिबेला पृथ्वीनारायण शाह गोर्खा राज्यका राजा थिए । गोर्खाली राजा पृथ्वीनारायण शाहले सल्यानी राजाका छोरासँग छोरीको बिहे गरिदिनु पछाडीका धेरै कारण छन् । पश्चिममा बलियो पकड जमाएकोे विशाल र शक्तिशाली तत्कालीन फालावाङ्गी राज्य (सल्यान राज्य) थियो ।
पश्चिम क्षेत्रका राज्य कब्जा गर्नलाइ पृथ्वीनारायण शाहले सल्यानसँग साइनो जोडेको देखिन्छ । बिहे भएको दुइ वर्ष पछि १८२५ तिर सल्यानी राजा कृष्ण शाहले एकअर्काको कुभलो नचिताउने भन्दै भगवंत नाथ मार्फत पृथ्वीनाराण शाहलाई एउटा धर्मपत्र पठाएका थिए ।
सुरुमा सल्यान राज्यभित्र पुर्वमा फालाबाङ, पश्चिममा भैरवी, उत्तरमा चिप्लया झिङसानीको लेक पानी ढलो र दक्षिणमा भारतको मुगलानसम्म थियो । पछि बिलासकुमारीको आग्रहमा पृथ्वीनारायण शाहले सल्यान राज्यमा पुर्वमा माडी खोलादेखि देउखुरी हुँदै दक्षिणमा भारतको बलरामपुर र पश्चिम तथा उत्तरमा सल्यान थपिदिएका थिए ।
पृथ्वीनारायण शाहको निधनपछि पनि सल्यान राज्यले गरेकाे याेगदान
पृथ्वीनारायण शाहको मृत्यु वि.सं. १८३१ माघ १ गतेका दिन ५२ वर्षको उमेरमा भएपनि नेपाल एकीकरणको अभियान चलिरहेको थियो । पृथ्वीनारायण शाहको निधनपछि बहादुर शाहले पाल्पासँग वैवाहिक सम्बन्ध गाँसी गुल्मी, अर्घा, खाँची आदि भूभाग नेपालमा गाभ्ने योजना बनाए। त्यसलाई रोक्न गल्कोट, मुसिकोट, इस्मा, गुल्मी, अर्घा, खाँची र प्यूठानलाई मिलाएर प्रभावशाली राज्य पर्वतले बलियो गुट तयार पारेको थियो। यो गुट बहादुर शाहका लागि ठूलै समस्या भएर तेर्सिएको थियो। त्यस वेला बहादुर शाहले आफ्नी दिदी विलासकुमारी शाहसँग मद्दत मागेका थिए। १८४३ सालको २६ भदौमा अर्घा र २८ भदौमा खाँचीमाथि आक्रमण गरी अधिकार जमाउँदा नेपाली सेनालाई सघाउन सल्यानको सेना आइपुगेको थियो।
नेपाली सेनालाई सल्यानी सेनाले सघाएको शक्तिशाली राज्य जुम्लाका काजी सुभान शाहीलाई मन परेन। उनले दाङ, रुकुम र जाजरकोटलाई मिलाएर सल्यानलाई दण्ड दिने योजना बनाए। यस विषयमा विलासकुमारीले नेपाल दरबारमा एउटा पत्र पनि पठाइन्। तीनै राज्य मिलेर दाङको चौघरामा सल्यानीलाई घेरा दिएका थिए। त्यसपछि नेपाली सेनाले १९ कात्तिक १८४३ मा प्यूठानमाथि कब्जा गरी दाङतर्फ बढेर सल्यानीमाथिको घेरा तोडेको थियो।
त्यति वेला पश्चिम क्षेत्रको राजनीतिक वस्तुस्थितिको यथार्थ विवरण नेपाल दरबारलाई सल्यानका राजा श्रीकृष्ण शाहबाट प्राप्त हुन्थ्यो। त्यही समयमा कुमाउँका प्रभावशाली मन्त्री हर्षदेव जोशी र त्यहाँका राजाबीच द्वन्द्व थियो। मन्त्री हर्षदेवले सल्यानी राजा मार्फत नै नेपाल दरबारसँग सम्पर्क राखेका थिए। श्रीकृष्ण शाहले कुमाउँमा विद्रोह मच्चाई नेपालको पक्षमा वातावरण तयार पार्न लगाएका थिए। कुमाउमाथि विजय र त्यसलाई स्थायित्व दिनमा नेपाल दरबारलाई सल्यानको मद्दत मिलेको थियो।
पश्चिम एकीकरण अभियानका वेला नेपाललाई सहयोग गरी आश्रित राज्यका रूपमा अस्तित्व जोगाउन चाहनेले नेपाल दरबारमा कर तिर्नुपर्थ्यो र राज्य थमौती हुन्थ्यो। यस क्रममा सल्यान, जाजरकोट, बझाङ आदिलाई अधीनस्थ गराई थामिएको थियो। त्यस्तै, जुम्ला, डोटी, अछाम जस्ता अनेकौं राज्यलाई मासेर नेपालमा गाभिएको थियो। यसरी पश्चिमतिर कुमाउँ गढवालसम्म पुगेर नेपाली सेनाले विजयको झण्डा फहराउनमा सल्यानको महत्त्वपूर्ण भूमिका थियो।
रणबहादुरको हत्यापछि सल्यान राज्यसँग बिग्रिएकाे सम्बन्ध
१८५० सालमा सल्यानी राजा कृष्ण शाहले आफ्ना छोरा बिलासकुमारीका श्रीमान रणभीमलाइ राजगद्दीमा राखि आफु काँशी व्रत गएका थिए । काँशी व्रत गएकाे वर्ष दिनभित्रै राजा कुष्ण शाहकाे उतै निधन भयो । १३ वर्षपछि १८६३ बैशाखमा तत्कालिन राजा पृथ्वीनारायण शाहका नानी रणबहादुर शाहको आफ्नै सहोदर भाइ शेरबहादुर शाहल खुकुरीले हानेर हत्या गरे । रणबहादुरको हत्यापछि नेपालमा प्रधानमन्त्री सरहको मुख्तियार भीमसेन थापा बने ।
रणबहादुरको मृत्युबारे बुझ्न बिलासकुमारी सल्यानबाट काठमाडौं गइन् । काठमाडौं पुग्दा उनले रणबहादुरको हत्या भीमसेन थापाले गरेको भन्ने कुरा बाहिर गाइगुइ सुनिन् । नेपालको संक्षिप्त वृतान्त नामक पुस्तकमा बाबुराम आचार्यले लेखेको लेखअनुसार काठमाडौं पुगेकी बिलासकुमारीले आफ्नो बारेमा गरेको गाइगुइकाे कुरा भीमसेन थापाले सुने । उक्त सुन्न वित्तिकै भीमसेन थापाले सिपाइहरुलाई लगाएर सालको १४ सय रुपैयाँको भरपाई बनाएर बिलासकुमारीलाई सल्यान फिर्ता पठाएका थिए ।
पछि पाल्पाली राजाका भारदार जगदेउ भण्डारीमार्फत नेपाल सरकारबाट सल्यानी राजालाइ सत्ता च्युत गरेर सल्यानी राजा रणभीम, रानी बिलासकुमारी लगाएत उनका छोराछोरीलाइ काठमाडौं झिकाउन पत्र काटिएको फ्रान्सिस ह्यामिल्टनले सन १९७१ मा रिप्रिण्ट नामक पुस्तकमा लेखेका छन् ।
त्यसपछि १८६६ बैशाख १० गते पाल्पाली राजाका भारदार जगदेउ भण्डारीले सल्यानी राजा रणभीमको सत्ता च्युत गरि सिपाइहरु लगाएर उनिहरुलाइ काठमाडौं पठाएर केहि दिन आफुले प्रशासनको काम सम्हालेका थिए । त्यसपछि सुब्बा रुद्रबिर शाहले सल्यानी राज्यको प्रशासनीक कार्य सम्हालेका थिए । बिलासकुमारी र उनका छोराहरूलाई काठमाडौंमा थोरै बिर्ता जग्गा दिएर राखियो ।
१८ वर्षपछि वि.सं. १८८४ मा सल्यानी राज्यमा तेजबहादुर शाह देखा परे । तेजबहादुर शाहको हुन् भन्ने एकीन नभएपनि उनि रणभीमका भतिजा वा नातेदार हुन भनेर वि.सं. २०४२ सालमा त्रिरत्न मानन्धरले लेखेको एउटा हस्तलिखित पानामा भेटिएको छ ।
१८९४ मा भीमसेनको निधन भएपछि भने तेज बहादुर शाहलाइ फेरि नेपाल सकारबाट सल्यानी राजाको रुपमा उपाधि दिएको देखिन्छ । तर उनलाइ फालाबाङ्गी राजा मात्रै बनाइएको थियो । त्यसअघिका फालाबाङ्गी राज्यले चलाउन दाङ–देउखुरी लगाएतका क्षेत्रहरुको भने उनलाइ अधिकार दिइएन् ।
२०१८ साल अघि सल्यान राज्य कस्ताे थियाे ?
२०१८ साल वैशाख १ गते तत्कालीन राजा महेन्द्रले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेका थिए । २०१५ को आम निर्वाचनमा नेपाललाइ १०९ निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो । जसबेला सल्यान जिल्लामा ५ वटा निर्वाचन क्षेत्र थिए ।
त्यसबखत सल्यान जिल्लाबाट निर्वाचित हुने प्रतिनिधि सभा सदस्यहरुमा सल्यान पश्चिमोत्तर (७८) राजा स्वयंप्रकाश विक्रम शाह, सल्यान मध्यपश्चिम (७९ ) नेबबहादुर मल्ल, सल्यान उत्तरपश्चिम (८० ) गणेशप्रसाद शर्मा, सल्यान पूर्व दक्षिण (८१) जुद्ध बहादुर खत्री र सल्यान पूर्व उत्तर (८२ ) टेक बहादुर घर्ती रहेका थिए । त्यसबेला नेव बहादुर मल्ल सहायक वन मन्त्रीसमेत बने ।
सल्यान जिल्लाकाे सिमाङ्कनलाइ हेर्ने हाे भने यसकाे इतिहास लामाे छ । सल्यानकाे अस्तित्व बाईसे राज्य हुनुभन्दा अगाडी नै थियाे । मलय वर्माले आफ्नो जीवनकालमै आफ्ना छोरा सुमेरू वर्मालाई सल्यान राज्यकाे जिम्मा दिएका थिए । मलय वर्माकाे निधनपछि छाेरा सुमेरू वर्माकाे पालामा वि.सं. १४७५ मा सल्यान राज्य स्वतन्त्र भएकाे थियाे ।
त्यसपछि सल्यान राज्य विशाल हुँदै गयाे । वि.सं. १८२३ माघ २५ गते सल्यानी युवराज रणभिम शाह सँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीकाे बिहे गरिदिएपछि सल्यान राज्य झन शक्तिशाली र क्षेत्र ठुलाे हुँदै गयाे । भीमसेन थापाकाे पालमा वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन सल्यान राज्य नेपाल एकिकरण अभियान भित्र परेको थियाे ।
पछि राणकालिन अबस्थामा पनि सल्यान जिल्ला अन्तर्गत हालको सुर्खेत, जाजरकाेट, रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो । यस जिल्लाको क्षेत्र पनि ठूलो थियो र चौथो दर्जाको बडाहाकिमको दरवन्दी थियो । त्यसबेला नेपालमा सबैभन्दा ठुला जिल्लाकाे रुपमा सल्यान, जुम्ला, बाग्लुङ्ग, डाेटी जस्ता जिल्लाहरु थिए ।
ऐतिहासिक पृष्भुमिमा सल्यान राज्यलाई गोर्खाले वि.सं.१८४३, १८६५, १९०६ मा अधिनस्थ भएपनि २०१५ सालमाको संसदिय निर्वाचमा जिल्लाको रुप खडा भएको थियो । त्यसपछि २०१८ सालमा यस सल्यान जिल्लालाई कर्णाली, भेरी र राप्ती अञ्चलमा विभाजित गरिएकाे थियाे ।
२०१८ सालअघि सल्यान जिल्लाकाे सिमाना पुर्वमा (त्यसबेलाकाे प्युठान, गुल्मी र बाग्लुङ्ग जिल्ला), उत्तरमा (त्यसबेलाकाे जुम्ला जिल्ला), पश्चिममा (त्यसबेलाकाे दैलेख र डाेटी जिल्ला) र दक्षिणमा (त्यसबेलाकाे बर्दिया, बाँके र दाङ-देउखुरी जिल्ला) थिए ।
२०१८ साल वैशाख १ गते तत्कालीन राजा महेन्द्रले १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेपछि सल्यान जिल्ला टुक्रिएर हालकाे जिल्ला बनेकाे हाे । २०१८ मा सल्यान जिल्लाबाट टुक्याइएर बनाइएका जिल्लाहरु राेल्पा, रुकुम, जाजरकाेट, सुर्खेत र दाङ हुन् ।
२०१८ पछि र २०७१ बैशाख २५ गते अघि सल्यान जिल्लालाइ ४७ वटा गाउँ विकास समिति र दुइ निर्वाचन क्षेत्रमा विभाजन गरिएकाे थियाे । २०७१ बैशाख २५ गते तत्कालिन ७ गा.वि.स मिलाएर शारदा नगरपालिका बनाइयाे भने त्यसपछि क्रमस: बागचाैर नगरपालिका पनि थपियाे । पछि संघिय नेपालकाे संरचनामा भने सल्यानलाई ३ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरि १० वटा पालिकामा विभाजन गरियाे । त्यस्तै संघीय निर्वाचन क्षेत्रमा एक र प्रदेश निर्वाचन क्षेत्रमा दुई वटा बनाइएकाे छ ।