नेमकिपालाई प्रमुख प्रतिपक्ष दल ताेक्न सांसद प्रेम सुवालकाे आग्रह


माघ ५, काठमाडौँ ।

नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का सांसद प्रेम सुवालले नेमकिपालाई प्रमुख प्रतिपक्ष दल ताेक्न आग्रह गरेका छन् । उनले  कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने आधार नभएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेस प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै सांसद सुवालले प्रतिपक्ष दल नतोकी संसद् बैठक सुरु नगर्न सदनको ध्यानाकर्षण गराएका छन् ।

सभामुख निर्वाचनको प्रयोजनका लागि बुधबार बोलाइएको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले आफ्नो दल नै सबैभन्दा ठूलो प्रतिपक्षी दल भएको पनि बताए । उनले नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोकेर मात्र संसद्को बैठक सुरु गर्न पनि सभाध्यक्षको ध्यानाकर्षण गराए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो राजनीतिक दल नेमकिपा हो त्यसैले प्रमुख प्रतिपक्ष दल नेमकिपालाई घोषित गरियोस् ।’ उनले संसद्को अधिकार सर्वोच्चमा पठाउन नहुने भन्दा संसद्ले बनाएको कानून आफैं उल्लंघन गर्न नमिल्ने बताए ।

सुवालले एमाले अध्यक्ष केपी ओलीले नै कांग्रेस सरकारको सहयोगी दल रहेको भनिसकेको र विश्लेषकहरूले पनि कांग्रेस विपक्षी दलको हैसियतमा रहन नसक्ने भनेको कुरालाई उनले उठाएका हुन् ।

उनले शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा नराख्न समेत ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार