• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

एमालेबाट सल्यानमा प्रतिनिधिसभाकाे चुनाव लडेका राजेन्द्रवीर राय नागरिक उन्मुक्ति पार्टीमा


माघ ११, सल्यानमा ।

लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदमा हुन लागेको उपनिर्वाचनका लागि नागरिक उन्मुक्तिबाट सल्यान घर भएका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् ।

उनि गत मंसिरमा भएकाे निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभामा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । घर सल्यान भई हाल बाँकेमा बसोबास गर्दै आइरहेका राय सहित ३ जनाले लुम्बिनी प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी दर्ता गरेका हुन् ।

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी परेको छ । कांग्रेसकातर्फबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् । रोल्पा नगरपालिका–४ निवासी उनी नेपाली काँग्रेसका जिल्ला पूर्वपार्टी सभापति पनि हुन् ।

उनको प्रस्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहेका छन् ।

यसैगरी एमालेबाट रोल्पा रुन्टीगढी–५का कुमार दसौतीले मनोनयन दर्ता गरेका छन् । दशौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य मिना कुमारी श्रेष्ठ रहेकी छन् ।

नागरिक उन्मुक्तिबाट उम्मेदवार बनेका रायको प्रस्तावकमा बर्दिया २(१) बाट निर्वाचित सांसद राजकुमार चौधरी छन् भने समर्थकमा बर्दिया २(२) वाट निर्वाचित प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी रहेका छन् ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा माघ २५ गते उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३ सय ५ जना जनप्रतिनिधिहरुले मतदान गर्नेछन् ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार