• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा झाडापखालाबाट सुत्केरी महिलाको मृत्यु


माघ १२, सल्यान ।

सल्यानमा झाडापखालाबाट चारमहिने सुत्केरी महिलाको मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ रैकर निवासी २२ वर्षीया अमृता विकको झाडापखालाबाट मृत्यु भएको हो ।

सोमबार बिहान ४ बजेदेखि पखाला लागेपछि स्थानीय मेडिकलमा सामान्य औषधि गरि थप उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा उनकाे मृत्यु भएको परिवारले जनाएकाे छ ।

झाडापखाला कसरी लाग्यो भन्नेबारे केही थाहा नभएको मृतक महिलाको काका ससुरा तुलसी विकले बताए ।

‘रैकरदेखि मेहलकुनाको अस्पताल जम्मा २०/२५ मिनेटको दूरीमा मात्र थियो । झाडापखाला लागेपछि औषधि सेवन गर्दा ठिक होला भन्ने लाग्यो‚’ उनले भने‚ ‘समस्या झनै बढ्यो । अस्पताल पनि समयमै लगिएको थियो तर बुहारीलाई बचाउन सकिएन । अस्पताल पुग्नेबित्तिकै डाक्टरले मृत घोषण गरिदिए ।’

घरमा बच्चालगायत अन्य कसैलाई पनि पखालाको समस्या भने नदेखिएको उनको भनाइ छ ।

चिसोका कारण महिलालाई झाडापखालाको समस्या देखिएको र औषधिको मात्र भर पर्दा शरीरमा पानी सकिएपछि डिहाइड्रेसनको समस्या देखिएका कारण मृत्यु भएको अस्पताल स्रोतबाट बुझिएको छ ।

मृतकका श्रीमान् राजकुमार विक अहिले वैदेशिक रोजगारीका लागि खाडीमुलुक दुबई गएका छन् ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार